७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप : भुटानलाई हराउँदै माङसेबुङको बिजयी सुरुआत



माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उद्घाटन खेल सुरु भएको छ। माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा शुक्रबार माङसेबुङ गाउँपालिका खेलकुद समिति,इलाम र बि.वाई.सी भुटानबीच भएको उद्घाटन खेलमा १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ बिजयी भएको हो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताको आजको उद्धघाटन खेलको प्रमुख अतिथि माङसेबुङ गाउँपालिका उपाध्यक्ष बिनोद नेम्वाङले महाबत्तीमा दिप प्रज्वलन गरेर खेलको उद्घाटन गर्नु भएको थियो ।

खेलको १५ औ मिनेटमा माङसेबुङका ओसन राईले प्रहार गरेको गोलमा परिणत भएको थियो । उनले गरेको गोल नै निर्णयक बनेको थियो । पहिलो खेलबाट हार बेहोर्दै बि.वाई.सी भुटान बाहिरिएको छ । आज भएको उद्घाटन खेलमा माङसेबुङसंग १-० ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो । त्यस्तै खेलको म्यान अफ द म्याच माङसेबुङका ओसन राई घोषित भए ।

फुटबल प्रतियोगिता अन्तर्गत भोलि शनिबार तिजोक युवा क्लब पाँचथर र धनकुटा जिल्ला फुटबल संघ,धनकुटाबीच अपरान्ह २:३० बजेदेखि खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् । माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम.एफ.सी। दार्जिलिङ भारत र बि.वाई.सी। भुटान सहभागी छन् ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । अतिरिक्त खेल तर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ ,छेलो हान्ने, लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, कराते लगायतका खेलहरु समेत संचालन हुनेछ ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय  ७० रुपैयाँ पुगेको हो ।

 

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : २० बजे