६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सरलपाडामा माङहिम उद्घाटन अन्तिम चरणमा



आसाम। कोक्राझार जिल्ला सरलपाडागाउँमा रहेको निर्माणाधिन किरात माङहिम उद्घाटनको अन्तिम चरणमा पुगेको छ । माङहिम निर्माण समितिका सचिव सुनिल राइले अङ्ग्रेजी सम्बत सन २०२४ भित्रमा माङहिम उद्घाटन गर्ने तयारीमा रहेको जनाएका छन् ।

निर्माण समितिका सचिव राइले भने,’सरलपाडा गाउँमा सन २०१७ मा माङहिम निर्माण गर्ने छलफल भएपछि माङसेबुङ स्थित गुरुनिजि आश्रममा गुरु भेटदर्शनको लागि माङहिम निर्माण स्थलको माटो लिएर गयौं । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ समक्ष माटो देखाएर वहाँको आज्ञा अनुसार माङहिम निर्माण सुरु गरेको हौ ।’

सरलपाडा गाउँमा माङहिम निर्माणको लागि जग्गा युवा समाजसेवी मनिकुमार साबा र चेतबहादुर साउदेनले जग्गा भुमिदान गरेका हुन् । माङहिम निर्माणको लागि किरात धर्मावलम्बी र सरकारको आर्थिक सहयोगमा माङहिम बनाइएको निर्माण समितिका कोषाध्यक्ष मनिकुमार साबाले बताए । उनका अनुसार चरु होम ५ लाख र माङहिम्मा ७ लाख गरेर करिब १४ लाखमा माङहिमको ९५ प्रतिशत काम सकिसकेको जानकारी दिए ।

पाँच घर प्रवेश
सन १९९८ सालमा कोक्राझार जिल्ला सरलपाडा गाउँमा पाँच घर किरात धर्ममा प्रवेश गरे । यसरी किरात धर्ममा प्रवेश गर्नेमा १) सनमान साबा लिम्बू २) गोपाल लाओती ३) गंगाराम संगीता श्रेङ ४) लोकबहादुर दिबुसा राई ५) चेतबहादुर साउदेन ६) सन बहादुर साबा रहेको छ । त्यसमध्ये सनबहादुर साबा एक्लै धर्ममा दिक्षित भएको हो । यसरी किरात धर्ममा प्रवेश गरेका धर्मावलम्बीहरुको संख्या पछिल्लो समय बढेर ५६ घर सङ्ख्या रहेको सनबहादुर साबाले जनाएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : १९ बजे