८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

पवित्रहाङमा कपको तयारी पुरा : उद्घाटनमा मिक्लाजुङ र माङसेबुङ भिड्दै



माङसेबुङ । १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा भोलि बुधबारदेखि सञ्चालन हुने १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको तयारी पुरा भएको हो ।

अपरान्ह २ बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा  नवदिप युवा क्लब मिक्लाजुङ मोरङ र माङ्सेबुङ गाउँपालिका इलामबिच हुने खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा महिला टिमको सहभागिता रहनेछ । सो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको छ । प्रतियोगितामा नेपालको इलाम, झापा, सप्तरी, मोरङसँगै भुटान र भारतको महिला टिमको सहभागिता रहने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताइन् ।

फाइनल खेल फागुन २ गते हुने प्रतियोगितामा माङ्सेबुङ गाउँपालिका इलाम, कन्काई नगरपालिका झापा, वि.वाई.सी भूटान, दीपेन्द्र शिखर फुटबल क्लब इलाम, नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, जनसहयोग युवा मोरङ, नवदिप युवा क्लब मिक्लाजुङ मोरङ, र एमएफसी दार्जिलिङ भारतको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ र उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।

माङसेबुङमा २०६७ देखि हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सवमा यहीँ समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : ०४ बजे