७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव मनाइदै



माङसेबुङ ।  किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं शुभजन्मोत्सव भव्य समारोह कार्यक्रमकासाथ आज बिहिवार मनाइदैछ ।

इलामको माङसेबुङ गाउँपालिका ५ स्थित किरात धर्मावलम्बीहरुको आस्थाको केद्र किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा विविध  कार्यक्रमसहित अङसीमामाङ जन्मोत्सव भव्यताका साथ मनाइदैछ  ।

जन्मोत्सव कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेस नेतृ लीला बोखिम लिम्बूको प्रमुख आतिथ्यमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महान सेवा समारोह समुद्घघटन कार्यक्रम हुने समारोह समितिले जनाएको छ ।

जन्मोत्सव समारोह अन्तर्गत सावायेहाङका लागि साक्मुरा वादेम्मा, येत् नाम्धुङ लाधुङ सेमी सेवा, पवित्रहाङमा कप, अङसीमाङज्यूको आशीर्वचन, नुमाङगेन्ना सेवासँगै यस वर्षदेखि सावायेहाङ नुमाङगेन्ना कार्यक्रम पनि जोडिएको नुमाङगेन्ना महान सेवा समारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।

आगामी नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी आयोजना हुँदै आएको पवित्रहाङमा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आज बिहीबार सम्पन्न भएको खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताएको छ ।

महान समारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अनुसार फागुन १ गते साक्मुरा वादेम्मा सेवा र २ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न भइसकेको छ ।

कार्यक्रम अन्तर्गत फागुन ३ गते बिहीबार प्रमुख अतिथिबाट नुमाङगेन्ना महान सेवा समारोह समुद्घाटन, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै विशेष महान समारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ६८ जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन हुने महान सेवा समारोह अध्यक्ष योङहाङको भनाई छ ।

समारोहका अध्यक्ष योङहाङका अनुसार यस वर्षदेखि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत आयोजना गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गर्नुपर्ने छ ।

कार्यक्रमको बारेमा थप्नुहुँदै समारोहका अध्यक्ष केहेरसिं योङहाङलेनुमाङगेन्ना सेवाको अवसरमा यस वर्षदेखि प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको बताउनु भएको छ ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत फागुन ४ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने जनाइएको छ । समारोहका सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अनुसार विगतका वर्षझैं फागुन ३ र ४ गते साँझ बृहत सांस्कृतिक कार्यक्रमसँगै नाटक समेत प्रस्तुत हुने छ ।

नुमाङगेन्ना समारोहसँगै जोडिएको २ दिने विशेष धार्मिक प्रशिक्षण भने विशेष कारणवस केही दिनको लागि स्थगन भएको समारोह अध्यक्ष तथा माङगेन्ना समिति अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ४ : ५६ बजे