७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलाम २ मा मिलन लिम्बुको स्वतन्त्र उम्मेदवारी घोषणा



दमक । इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बूले आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध आफ्नो उम्मेदवारी भएको उनले बताए ।

लिम्बूले आफूलाई इलामेली जनताले जिताउने दाबी पनि गरे । उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम–२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु ।’

इलामेली नागरिकलाई जल, जंगल र जमिनको मालिक बनाउने यो अभियानमा साथ र सहयोगका लागि उनले अपिल समेत गरेका छन् । उनले आफू पहिचानको पक्षमा भएको भन्दै कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने पनि बताए ।

इलाम २ बाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : ३१ बजे