१६ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025

शक्तिशाली मुलुकहरुबीचको शक्ति प्रदर्शनले गर्दा नरसंहार हुने सम्भवना : किरात धर्मगुरु



ओत् माङ्ङे सेवारो,

प्यारा चेलाभुलाहरु, हाम्रो आत्माले दुःख नपाई माङको लोकमा पुगोस् भनेर भक्ति गर्नुपर्छ । ‘हाम्रो आत्माहरु नर्क र स्वर्गमा गएर बस्ने दुई किसिमको आत्माहरु हुन्छ । पवित्र आत्माहरु मात्र स्वर्गमा जाने गर्दछन् ।’ ‘मुक्ति र मोक्ष प्राप्तिको लागि प्रार्थना गर्नुपर्छ । आत्मालाई पवित्र राख्यौं भने माङले लिन्छ ।’ पञ्चतत्वको गति विग्रेको र संसारमा एउटा अनिष्ट आउने सम्भावना रहेको छ । यो अनिष्टबाट हामी कसरी बच्ने भन्ने विषयमा सबैले ध्यान दिनुपर्छ ।’

विश्वमा ठूला ठूला शक्तिशाली मुलुकहरुबीचको शक्ति प्रदर्शनले गर्दा नरसंहार हुने सम्भवना रहेको छ । यसबारे तपाईहरुलाई भनिरहेको छु । मैले गरेको भविष्यवाणीहरु कुन पुग्यो पुगेन म एकदिन तपाईहरुलाई सोध्नेछु । टिप्पणी गर्दै गर्नु । ‘धार्मिक दृष्टिकोणले हेर्दा संसार अन्त्य अन्त्यतिर पुगेको छ । त्यसैले यसबाट जोगिन माङसेवामा ध्यान दिनुपर्छ ।’

संसारभरका मानव समुदायहरु किरात धर्म दर्शनमा एकताबद्ध हुन अनुरोध सदैव गरिरहेको छु । ‘यो संसारमा नयाँ आयाम छोड्दै छु । यो दर्शन चिनेर अगाडि बढ्नुहोस् ।’
देश विदेशमा आपत्तकालिन अवस्था नहोस भनेर माङसँग प्रार्थना सधै गरिरहेको छु । मलाई तपाईहरुको असाधै माया लागेर आउछ । माङको सेवा भक्ति सधै गर्नु । आफ्नो छोरा छोरीलाई माङको स्तुति गर्न सिकाउनु । दिनमा रातमा महागुरु फाल्गुनन्दको नाममा धुप बाल्नु वा कुरा मात्रै गर्नुभयो भनेपनि माङले साथ दिनेछ । माङले कम्ब्राङ गर्नुहुनेछ ।

मेरो पनि जानेबेला भईसक्यो, यो भौतिक चोला न हो एकदिन यो बजार छोडेर जानु पर्नेछ । तपाईहरुलाई मैले केही माया, आशिर्वाद दिएर जाने इच्छा गरिरहेको छु तर तपाईहरुको अनेकताको कारणले म अतिनै चिन्तीत छु ।

मेरो कार्यकालमा माङहिम बनाउनु छ । १०८ महागुरु फाल्गुनन्दको शालिक बनाई राख्नु छ । मुन्धुम पूर्ण सम्पादन गरेर पुरा गर्नुछ । महागुरु फाल्गुनन्दको अधुरा अपुरा कामहरु गर्नुछ ।

‘विश्व शान्ति होस्, जहाँरहे पनि हाम्रो आत्मा एकता होस एकता भयौं भने सिद्धि शक्ति पाउँछौं ।’

तपाईहरु टाढा टाढाबाट यतिधेरै दुःख गरेर आउनु भयो आशिर्वाद पाउनु हुनेछ । माङले कल्याण गर्नुहुनेछ । जे सोचेर आउनुभएको छ त्यो पुरा हुनेछ । सधै माङको स्तुति गर्न नभुल्नु होला । माङले बचायो त बचायो अरुले बचाउदैन है ?
सेवारो

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ देनज्यूले विभिन्न समय र स्थानमा गर्नुभएको आशिर्वचनको महत्वपूर्ण अंशः

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ३ : २१ बजे