६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माङसेबुङको आ.व. २०८०/०८१ को अन्तिम सार्वजनिक सुनुवाई शुक्रबार इभाङमा हुँदै



इलाम: इलामको माङसेबुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०।०८१ को अन्तिम सार्वजनिक सुनुवाई भोलि (शुक्रबार) गाउँपालिका कार्यालयको प्राङ्गण इभाङमा संचालन गर्दैछ ।

गाउँपालिकाको कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको हो ।

माङसेबुङ गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाईका रुपमा विहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।

माङसेबुङ गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा सार्वजनिक सुनुवाई संचालन हुनेछ ।

कार्यक्रममा गाउँपालिकाबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत हुनेछ ।

त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन पत्रको नतिजा प्रस्तुत गर्नेछ ।

त्यस्तै नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत प्रस्तुत गर्नेछ ।

नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु समेत प्रस्तुत हुनेछ ।

त्यस्तै कार्यक्रममा सेवाग्राहीहरुले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राख्नेछन् । गाउँपालिकाको तर्फबाट अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान एवम् विभिन्न फाँट र शाखा प्रमुखहरुले सेवाग्राहीको जवाफ दिनुका साथै आगामी दिनमा सेवाप्रवाहलाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता जनाउनेछन् ।
Nayabulanda.com

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  २ : ४७ बजे