किरात धर्म, दर्शन, संस्कार, संस्कृति प्राचीन भएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ले विभिन्न ठाउँ दिनुभएको आशीर्वचनमा बताउँदै आउनुभएको छ। लामो इतिहास बोकेको किरात धर्म, दर्शन, संस्कार, संस्कृति कुनै कालखण्डमा सभ्यताको शिखरमा पुगेको त कुनै कालखण्डमा लोपोन्मुख अवस्थामा पुगेको थियो। यसरी आरोह अवरोह गरिरहेको बेला त्यसको संरक्षण तथा संवर्द्धन गर्न मुहिङगुम अङसीमाङहरू सोधुङगेन लेप्मुहाङ, येहाङ, कान्देहाङ, माबोहाङ, श्रीजंगाहाङ, त्येअङसी सिरिजंगा, महागुरु फाल्गुनन्दको योगदान अतुलनीय छ।
२०औं शताब्दीमा आइपुग्दा किरात धर्म दर्शन पतनको सँघारमा पुगेको देखिन्छ। तत्कालीन निरङ्कुश राणा शासनमा सर्वसाधारणलाई लेखपढमा प्रतिबन्ध, आफ्नो धर्म, संस्कारको प्रचारप्रचार गर्न दिइँदैन थियो। त्यसैले किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार, संस्कृतिको अवस्था दयनीय थियो। लोपोन्मुख अवस्थामा पुगेका बेला किरात धर्म दर्शनलाई पुनः उत्थान गर्न १९४२ कात्तिक २५ गते आइतबार मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मावतार भएको पाइन्छ। छरपस्टिएको र दिशाविहीन किरात समाजलाई वहाँले किरात धर्मको मार्गमा ल्याउन प्रयत्न गर्नुभयो। यससँगै किरात धर्म, दर्शन, भाषा, लिपि, संस्कार, संस्कृतिको पुनः उत्थानको थालनी गर्नुभयो। तत्कालीन किरात समाजमा रहेको कुरीति तथा कुसंस्कारलाई हटाउन १९८८ बैशाख २४ गते पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्यहरूको आमभेला गराई ‘सत्य धर्म मुचुल्का’ नामक निर्णय गर्नुभएको थियो। त्यसैले वहाँलाई समाज सुधारक र राष्ट्रले राष्ट्रिय विभूतिको विभूषणले सम्मानित गरेको छ।
आफूले शुरु गरेको काम पूरा गर्न नपाई ६४ वर्षको उमेरमा २००५ चैत २२ गते महागुरु फाल्गुनन्दको परमधाम भयो। महागुरुको त्यही अपूरा कामलाई पूरा गर्न इलामको इभाङ, अगौटेबारीमा २०११ मंसिर १८ गते शुक्रबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’को जन्मावतरण भयो। वहाँले १३ वर्षको उमेरमै आत्मा, परमात्मा, विगत, वर्तमान र भविष्यबारे जान्नुहुन्थ्यो। तसर्थ, त्यस क्षेत्रका मानिसले वहाँलाई बालागुरु उपनाम दिएका थिए। बालागुरुले सो समयमा माङसेवासाम्लोहरू पनि रचना गर्नुभएको पाइन्छ।
धर्मगुरुले इलामको माई, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङ्गीको गुफाडाँडामा २०२७ साउन २५ गतेदेखि माघ २५ गतेसम्म गुफासाधन गरी समाधि ज्ञान प्राप्त गर्नुभएको थियो। त्यही बेला वहाँले आफ्नो जन्मको प्रमुख उद्देश्य महागुरु फाल्गुनन्दको अपूरो कार्यलाई पूरा गर्ने रहेको थाहा पाउनुभयो। समाधि ज्ञान प्राप्त गर्नुभएपछि २०२७ सालमा इभाङको गैरीगाउँ माङहिममा किरात धर्मावलम्बीहरूले माङ्लाङ ताक्मा (देव स्वागत) गरे र वहाँलाई महागुरु फाल्गुनन्दको पुनः अवतारको रुपमा पुज्न थाले।
धर्मगुरु २०३२ माघ २२ गते सा“बा पबित्रहाङमा लिङ्देनसँग देव विवाहमा बाँधिई संसारिक जीवन प्रवेश गर्नुभयो। सांसारिक जीवनमा प्रवेश गरेपछि २०३५ सालमा माङसेबुङ गाउँपालिका वडा नं. ५, लारुम्बा, इलाममा निजी आश्रम बनाई स्थायी रुपमा बस्न शुरु गर्नुभयो। यो प्रक्रिया सामान्य लागे पनि संसारिक जीवनमा प्रवेश गरेपछि मानवका लागि स्थायी बसोवास गर्ने घर आवश्यक हुने यसले सन्देश दिएको छ।
किरात धर्म दर्शन, भाषा, लिपि, मुन्धुम, संस्कार, संस्कृतिको संरक्षण, संवर्द्धन र प्रचारप्रसारमा धर्मगुरुलाई गुरुआमाले महत्त्वपूर्ण साथ दिनुभएको छ। पञ्चायती शासकहरूबाट किरात लिपि र मुन्धुमहरू जोगाउन आफूहरूले धेरै दुःख, पीडाको सामना गर्नुपरेको धर्मगुरु र गुरुआमाले भक्तजनहरूलाई सुनाउँदै आउनुभएको छ। धर्म, भाषा, लिपि, मुन्धुम, संस्कार, संस्कृतिको संरक्षण र प्रचारप्रसार गरेको आरोपमा धर्मगुरुलाई धेरै पटक गिरफ्तार गर्ने प्रयास भएको थियो। तत्कालीन समयमा भएका ती घटना सुन्दा कथा झैं लाग्छ। यस्ता अनेकौं समस्या सामना गरेर धर्मगुरु र गुरुआमाले किरात धर्म दर्शन, साम्जीक मुन्धुम, भाषा, लिपि संरक्षण गरेर ल्याउनुभएको हो। अहिले पनि भोक, तिर्खा, रोग र शोक नभनी अहोरात्र खटिरहनुभएको छ।
सांस्कृतिक मोह
किरात धर्म दर्शन, संस्कार, संस्कृतिको प्रचारप्रचारलाई प्रभावकारी बनाउन धर्मगुरुले २०३४/३५ सालताका धार्मिक जागरण गीत रचना गर्ने, त्यसमा संगीत भर्ने र गाउने गर्नुहुन्थ्यो। वहाँले माङसेवा साम्लो, हाक्पारे, ख्याली, पालाम, यारीछाम गाउनुहुन्थ्यो। नाच्नुहुन्थ्यो। वहाँको अगुवाइमा जनचेतनामुलक नाटक प्रदर्शन हुन्थे। गुरुआमाले पनि गीत गाउनुभएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ सुनाउनु हुन्छ। धर्मगुरुले धार्मिक जागरण र माङसेवा साम्लो रचना गर्नुभएको छ।
त्यो बेला मातृभाषामा लेखपढ गर्न प्रतिबन्ध थियो। मातृभाषामा गीत रचना गरी गाउँदा प्रशासकको निगरानीमा परिन्थ्यो। यद्यपि, धर्मगुरु र गुरुआमाले मातृभाषाको गीत, संगीत सिर्जना गर्ने कामको नेतृत्व गर्नुभयो। यसरी रचना गरिएका गीतबाट किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति जगर्नेमा लाग्न प्रेरित गर्नुभयो। शासकलाई छक्याउँदै शुरु गरिएको त्यही अभियान आज बृहत् बन्दै गएको छ। अहिले माङलाङ, केलाङ, नाहेनलाङ, युमालाङ, थेबालाङ, हाक्पारे, पालाम, ख्याली, यारिछाम, सेवासाम्लो र आफ्ना मातृभाषामा गाउन धेरैले जानेका छन्।
धर्मगुरुले कुरीति तथा कुसंस्कारमा डुबेका किरात समुदायलाई सुमार्गमा ल्याउन विभिन्न ठाउँ र समयमा धर्मोपदेश दिंदै आउनुभएको छ। तर, कुसंस्कार र कुरीतिले जरो गाडेको समाजलाई ब्यूँझाउन धर्मोपदेश मात्र पर्याप्त नहुने ठानी गीत तथा संगीतको मद्दत लिनुभएको पाइन्छ।
२०३०/३१ सालतिर ताप्लेजुङको काबेली माङहिममा किरात सांस्कृतिक कार्यक्रम आयोजना गरी धर्मगुरुले सांस्कृतिक जागरण अभियान शुरु गर्नुभएको थियो। यस अभियानलाई संस्थागत गर्न वहाँकै निर्देशनमा २०३७ सालमा केन्द्रीय किरात सांस्कृतिक समिति स्थापना भयो। उक्त संस्थाको नाम संशोधन गरी अहिले किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो बनेको छ। साक्थिम्गेन पान्जुम्भोको संयोजनमा २०५६ सालमा इलामको माङसेबुङमा किरात साम्मुक इत्लोहिम (किरात रेकर्डिङ स्टुडियो) स्थापना गरी गीत रेकर्डिङ गरिएको थियो। धर्मगुरुले ‘किराती चुम्से’, ‘ओत् तागेरा’, ‘तान्छोदिङ तारे’, ‘थाङमाङ लाम्दो’, ‘इक्सादिङ खाम्बेक’, ‘लछा पुदिक’ लगायतको गीतको अडियो तथा भिडियो साक्थिम्गेन पान्जुम्भोले प्रकाशन गरिसकेको छ।
वहाँले किरात सांस्कृतिक क्षेत्रको विकास र विस्तारमा अतुलनीय योगदान पुर्याउनुभएको छ। धर्मगुरुले किरात समुदायको मात्र नभई संसारभर रहेका विभिन्न मौलिक संस्कृतिलाई संरक्षण र संवर्द्धन गरी विकास र विस्तार गर्नुपर्नेमा जोड दिंदै आउनुभएको छ। यस कामका लागि बृहत् सांस्कृतिक महासम्मेलन गर्नुपर्ने वहाँको इच्छा छ। यही इच्छालाई पूरा गर्न धार्मिक संघ संस्थाहरूलाई निर्देशन दिंदै आउनुभएको छ। धर्मगुरुको निर्देशन अनुसार नै सांस्कृतिक महासम्मेलनका लागि किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको संयोजनमा २०८० पुस तेस्रो साता किरात सांस्कृतिक सम्मेलन प्रस्तावना तयारी समिति पनि गठन भएको छ। समितिले प्रस्तावना तयारी गरी २०८० माघ ३ गते धर्मगुरु समक्ष प्रस्तुत गरिसकेको छ।
सांस्कृतिक महासम्मेलन सफल बनाए किरात धर्म र संस्कृतिको संस्थागत विकास र विस्तार हुने धर्मगुरुले बताउनुभएको छ। यसबाट सांस्कृतिक महासम्मेलन अपरिहार्यता कति छ भन्ने देखाउँछ। जुन दिन सांस्कृतिक महासम्मेलनमार्फत किरात धार्मिक संस्कृतिको अवधारणा सार्वजजिक गर्न सक्छौं, त्यसबेला मात्र धर्मगुरु र गुरुआमाले थालनी गर्नुभएको सांस्कृतिक अभियानले साकार रुप लिनेछ।