आत्मानन्द गोल्डपको १८औं संस्करण आजदेखि शुरु हुँदैछ। इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा हुने उद्घाटन खेल माङसेबुङ गाउँपालिका युवा तथा खेलकुद समिति‚ माङसेबुङ‚ इलाम र सिरिजंगा स्पोर्टिङ क्बल‚ पथरीशनिश्चरे नगरपालिका-३ मोरङबीच हुँदैछ।
किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सवको अवसरमा हुन गइरहेको फुटबल प्रतियोगितमा आठ टिम सहभागी छन्। आत्मनन्द कप २०८२ का संयोजक मनप्रसाद आङबुहाङका अनुसार प्रतियोगिता माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा मंसिर १७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरू सहभागी हुनेछन्।
प्रतियोगितमा नेपालबाट भाङबारी स्पोर्टिङ युथ क्लब‚ दमक‚ झापा, दुधे युथ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, लेटाङ फुटबल क्लब मोरङ, तिजोक युवा क्लब पाँचथर, माङसेबुङ गाउँपालिका‚ युथ अफ माङसेबुङ इलाम र भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लब सहभागी हुनेछन्।
प्रतियोगितका विजेताले नगद ३ लाख ११ हजार १७२ र उपविजेताले २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही ८ हजार १७२ रुपैयाँका साथ नगर र ट्रफी प्रदान गरिने छ। यसैगरी उदीयमान खेलाडी, उत्कृष्ट कोचले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् । साथै खेलका म्यान अफ् द म्याचले ५ हजार १७२ प्राप्त गर्नेछन् ।


