मोरङको लेटाङ फुटबल क्लब इलामको माङसेबुङमा जारी आत्मानन्द गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
मंसिर ८ गते माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा भएको खेलमा लेटाङले पान्थरको तिजोक फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। निर्धारित समयमा दुवै टिमले बराबरी खेल्दा नतिजा ट्राइब्रेकरबाट निकालिएको हो। ट्राइब्रेकरमा लेटाङले तिजोकलाई ५-४ गोल अन्तरले पराजित गरेको हो।
आजको खेलमा लेटाङका गोलकिपर समीर क्षेत्री म्यान अफ द म्याच घोषित गरे। भोलिको खेल दुधे युथ क्लब झापा र सिलिगुडी कञ्चनजंगा फुटबल क्लव‚ भारतबीच हुनेछ।

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितमा आठ टिम सहभागी छन्। प्रतियोगितका विजेताले नगद ३ लाख ११ हजार १७२ र उपविजेताले २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही ८ हजार १७२ रुपैयाँका साथ नगर र ट्रफी प्रदान गरिने छ। यसैगरी उदीयमान खेलाडी, उत्कृष्ट कोचले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन्। साथै खेलका म्यान अफ् द म्याचले ५ हजार १७२ प्राप्त गर्नेछन्।






तस्बिरहरूः योगेश लाओती


