२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

रोङको पूर्व क्षेत्रलाई झापासँग जोड्ने सडक सञ्चालन



इलामको रोङ गाउँपालिका–६ स्थित धजे, मनकामना, जिर्मले, कुवापानी र तेलपानीलाई जोड्ने सडक सञ्चालनमा आएको छ।

सडक सञ्चालन आएसँगै स्थानीय बासिन्दा उत्साहित भएका छन्। यस सडकले यहाँको कृषि, पर्यटन र व्यापार प्रवर्द्धनमा नयाँ सम्भावना खुलेको स्थानीयहरू बताउँछन्। सडकले रम्भ्याङ, जौबारी, जिर्मले , कुवापानी, फाफोकटार र लामिटार क्षेत्रका किसानलाई कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको छ। शिक्षा, स्वास्थ्य र व्यापारका लागि झापाको धुलाबारी, बिर्तामोड र चन्द्रगढीसम्म पुग्न सहज भएको छ।

धजेबाट धुलाबारी २७ किलोमिटर र धजे–बिर्तामोड करिब ४० किलोमिटर र चन्द्रगढी पुग्न ४४ किलोमिटर मात्र रहेकाले खाद्यान्न ढुवानी र पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुगेको स्थानीयहरू बताउँछन्। सडक निर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट विभिन्न आर्थिक वर्षमा गरी करिब ६ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ।

उक्त सडकको धजेदेखि मनकामना खण्डको साढे तीन किलोमिटर ग्राभेल गरिएको छ। नाली, ह्युमपाइप र नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। स्थानीयले सडकलाई पूर्ण रूपमा स्तरोन्नति गर्दै कालोपत्रे गर्न माग गरेका छन्।

यो सडक रोङ गाउँपालिकाको दिगो विकास र आर्थिक समृद्धिको आधार बन्ने अपेक्षा गरिएको छ। विघटित प्रतिनिधिसभा सांसद सुहाङ नेम्बाङले एक कार्यक्रमबीच २०८२ पुस १२ गते सडकको उद्घाटन गर्नुभएको हो। सडक उद्घाटनसँग मनकामनाधामको समेत दर्शन गर्नुभएका उहाँले इलामको विकासका लागि पूर्वाधार र संस्कृतिलाई सँगै अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ९ : ४३ बजे