६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

विकास निर्माणमा किरात धर्मगुरु: भेटीबाट दस करोडको सडक



आङबुहाङ अबोध अविरल

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ एक आध्यात्मिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । प्राचीन किरात जातिका जीवन वृत्ति, प्रवृत्ति, जीवन पद्धति, आदर्श र विश्वदृष्टिलाई किरात धर्मका रुपमा राज्यबाट संबोधित गराउन वहाँका जीवन धेरै समय बितेका छन् । विश्व शान्ति तथा मानव एकता, आध्यात्मिकता, शाकाहारी जीवन पद्धति र अहिंसाका पक्षमा वकालत गर्दै आउनुभएको छ । जसका निम्ति अनेको कष्ट, जोखिम, आरोप र निर्मम आलोचना झेल्दै आउनु भएको छ । आध्यात्मिक विकासका साथै माङसेबुङको विकास पूर्वाधार निर्माण किरात धर्मगुरुको जीवनको अर्को महत्वपूर्ण पाटो हो ।

इलाम जिल्लाको ज्यादै दुर्गम तथा अनकन्टार स्थान बाँझो ९, लारुम्बामा वि.सं. २०३५ गुरुआश्रम निर्माण भएको थियो । सोही स्थालबाट माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा स्वदेश विदेशमा चिनाउन वहाँको ठूलो योगदान रहेको छ । किरात धर्मगुरुको पहलमा माङहीम, सडक, खानेपानी, विद्यायल (मुन्धुम निसामहिम, सार्वजानिक र संस्थागत), क्याम्पस, भक्तशाला, प्रवचन मैदान, खेल मैदान, गुरुआश्रम, विद्युत बिस्तार, स्वास्थ्य, सार्वजानिक शौचालय, सवारी खरिद र सञ्चार गृह निर्माणका कार्यहरु भएका छन् । जसका लागि गुरुआश्रमले करिब ५० करोड रुपैयाँ खर्च गरेको जनाएको छ । माङसेबुङलाई सडक सञ्जालसँग जोड्न मात्र गुरुआश्रमले झण्डै १० करोड खर्च गरेको छ । यस लेखमा किरात धर्मगुबाट चन्दा भेटीबाट निर्माण तथा स्तरोन्नती गरिएको सडकहरुबारे चर्चा गरिएको छ ।

गुरु आश्रमले निर्माण तथा स्तरोन्नती गरेका सडकहरु

माङसेबुङ चक्रपथ

‘माङसेबुङ चक्रपथ’ माङसेबुङ ५, इलाममा अवस्थित किरात मुजोत्लुङ हाङसाम माङहीम वरिपरी निर्माण गरिएको छ । ६.५ किलोमिटर लम्बाई र ४० फूट चौडाईको यो कच्ची सडक वि.सं. २०५८ मा खन्न शुरु गरिएको हो । यो माङसेबुङ वरिपरीका भञ्ज्याङ, सेसेला, सेनेला, तेङगोबुङ, सेनेला, मिक्तोक्ला, लारुम्बा, लासिम्बुङ, भालुटार, कुवापानी र अमदेन टोलहरुलाई जोडेको छ । यो चक्रपथ दमक—रबी फाल्गुनन्द मार्गको भञ्ज्याङ क्षेत्र र माङसेबुङबुङ विर्तामोड आत्मानन्द मार्गको लारुम्बा क्षेत्रमा जोडिन्छ ।

भिरालो ठाउँ र केही कडा चट्टान काटेर निर्माण ७ फूट चौडाई भएको चक्रपथको ट्रयाक २०६१ सालमा खोलिएको थियो । भूतपूर्व सैनिक, कम्राङ, स्वयम् सेवक र साधारण भक्तजनहरुले झम्पल, कोदालो र गैतीको सहायताले सो सडक खोलिएको थियो । त्यसपछि वि.सं. २०६५ र २०७९ गुरुआश्रमको लगानीमा दुईपल्ट सडकको स्तरोन्नती गरेको थियो ।

चक्रपथ वरिपरी निर्माण भएका सयौं घरहरुलाई बचाएर सडक स्तरोन्नती गर्दा धेरै खर्च भएको रिङरोङ स्तरोन्नतीको सुपरभाइज गर्नुभएको किरात धर्मगुरुका निजी सचिव खड्क साँबा बताउनुहुन्छ । कुवापानी र लासिम्बुङ क्षेत्रका जेसिभिले माटो खनेर ट्रयाक्टरमा बाहिर फाल्नु परेकाले गुरुआश्रमले धेरै ठूलो व्ययभार व्यहोर्नु परेको थियो । चक्रपथ स्तारेन्नतीका निम्ति गुरुआश्रमको रु ३ करोड ८५ लाख ६ हजार खर्च गरिसकेको गुरुआश्रम भौतिक निर्माण समितिका कोषाध्यक्ष सेरबहादुर लाओती बताउनुहुन्छ । यसका साथै किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना पहलमा १ करोड ४५ लाख खर्च गरिएको छ । चक्रपथको गुरुआश्रम क्षेत्रमा करिब १ करोडको तटबन्धन र तारजाली लगाईएको छ । यसैगरी इलामे गेट र गुरुआश्रम प्रदेशमार्गका निम्ति १ करोड १६ लाख खर्च गरिएको छ । २०६६ फागुन ४ निर्माण शुरु गरिएको ५०० मिटर दुरीको यो प्रवेश मार्गमा गुरुदर्शन स्थल र साम्याङवा युपावा धारा रहेको छ । यसरी हेर्दा जनश्रमदान बाहेक चक्रपथ र गुरुआश्रम प्रवेश मार्गमा ७ करोड खर्च भएको देखिन्छ । सो सडक स्तरोन्नती कार्यको जिम्मा सिंहदेवी कन्ट्रक्सन झापाले गरेको थियो ।

माङसेबुङ चक्रपथ दमक—रबी फाल्गुनन्द मार्गको भञ्ज्याङ सडक खण्डमा जोडिन्छ । यसैगरी माङसेबुङ बिर्तामोड आत्मनन्द मार्ग माङसेबुङको लारुम्बा सडक खण्डमा जोडिन्छ । यो सडकले माङसेबुङ वरिपरिका दसौं हजार जनसंख्यालाई यातायात, व्यापार र कृषि कार्यका निम्ति सहज बनाएको छ । हरेक साल माङसेबुङ आउने स्वदेश विदेशका हजारौं तिर्थालु भक्तजनलाई आवाज जावत गर्न सहज भएको छ । तिर्थालुहरु माङसेबुङ चक्रपथमा पैदल तथा सवारीबाट यात्रा गरी माङसेबुङ परिक्रमा गर्ने गर्दछन् । भविश्यमा रिङरोङ वरिपरी आठबटा माङहीम, पैदल यात्री पथ, सवारी मार्ग र विद्युतीय मिनी रेल लिगका रुपमा बिस्तार गर्ने योजना रहेको माङसेबुङ विकास समितिले जनाएको छ । जसका निम्ति प्रदेश नं १ सरकारले कालोपत्रे गर्न डिपिआर निर्मााण गरिसकेको छ ।

गुरु आश्रम मेक्वा कृषि मार्ग

माङसेबुङस्थित गुरु आश्रमबाट मेक्वावेंसीसम्म जाने कृषि मार्ग गुरुआश्रमले निर्माण गरेको कृषि मार्ग हो । यस मार्गबाट मेक्वास्थित आश्रमको खेतीमा जान सहज भएको छ । ६.५ कि.मि. लम्बाई रहेको यस सडकले लारुम्बा, चुनीया, मेक्वा र सुभाच्याङ गाउँका सयौं घर धुरी लाभान्वित बनाएको छ । यो सडकले गुरु आश्रममा आउने भक्तजनका निम्ति आवश्यक अन्न उत्पादन गरिने मेक्वा बेंसीलाई जोडिदिन्छ ।

मेक्वा कृषि मार्गका निम्ति अहिलेसम्म गुरुआश्रमले रु ४८ लाख ५८ लगानी गरेको छ । यो मार्गले लारुम्बा, चुनिया, मेक्वा, सुभाच्याङ क्षेत्रमा उत्पादित अन्नबाली, अम्लिसो, अदुवा, टमटरलगायतका कृषिजन्य बस्तुको बिक्री बितरणमा सहयोग पुगेको छ ।

माङसेबुङ रतुवा कृषि मार्ग

माङसेबुङ रतुवा गुरुआश्रमले निर्माण गरेको गरेको अर्को कृषि मार्ग हो । यसको जम्मा लम्बाई ९.६ कि.मि.रहेको छ । जसमध्ये ७ कि.मि. माङसेबङ चक्रपथ र फाल्गुनन्द मार्गमा पर्दछ । यस सडक खण्डको लामिटार रतुवा खण्ड भने गुरुआश्रमको लगानीमा निर्माण भएको छ । यो खण्ड २ कि.मि. रहेको छ । यसको निर्माण वि.सं. २०७० भदौ ७ मा शुरु गरिएको हो ।

माङसेबुङ रतुवा कृषिमार्गले माङसेबुङ, लामिटार, दुम्से, बाँके र रतुवावेंसीका हजारौं स्थानीयवासीलाई लाभान्वित बनाएको छ । यो सडकले सो क्षेत्रमा सवारी आवज जावत, कृषि, व्यवसाय र पशुपालनमा सहज बनाएको छ ।

माङसेबुङ विर्तामोड आत्मानन्द मार्ग

इलाम माङसेबुङदेखि झपाको विर्तामोड जोड्ने ‘आत्मनन्द मार्ग’ ४२ कि.मि. रहेको छ । यो मार्गको माङसेबुङ महमाई विहीबारे सडक खण्ड गुरु आश्रमले निर्माण गरेको हो । माङसेबुङ महमाई सडक खण्ड निर्माण वि.सं. २०७१ बैसाक १३ बाट शुरु भएको थियो । यसको निर्माण जेसिभिलगायतका अत्याधुनिक उपकरणको प्रयोगबाट गरिएको थियो । यसै सडकको ढिकिटार क्षेत्रबाट साविक महमाई १ पलासे जोड्ने ३ किमि कच्ची कृषि सडकसमेत गुरुआश्रमले निर्माण गरेको छ । यो सहित १० कि.मि. कच्ची सडकका निम्ति रु ६४ लाख ८५ पचासी हजार गुरुआश्रमले लगानी गरेको छ । यो सडक निर्माण कार्य सिंहदेवी कन्सट्रक्सन झापाले गरेको थियो । गुरुआश्रमको लगानीमा यो सडक बनेकाले यो सडकको नाम नेपाल सरकारले २०७२ मा ‘आत्मानन्द मार्ग’ नामाकरण गरेको पूर्व सभामुख सुवास नेम्बाङ बताउनुहुन्छ । आत्मानन्द मार्गले माङसेबुङ जोडिएपछि माई नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ नगारपालिकाका पचासहजार बढी जनता लाभान्वित भएका छन् । यो मार्गले ताप्लेजुङ, पान्थर, इलाम, झापाका साथै बर्मा, भुटान, आसाम, दार्जिलिङ र सिक्किम माङसेबुङ आउने तिर्थयात्रीहरुलाई सहज भएको छ । यसअघि सवारी साधनबाट माङसेबुङ आउन दमक रबी फाल्गुनन्द मार्ग एकमात्र बिकल्पको रुपमा रहेको थियो । यही सडकले माङसेबुङलाई इलाम सदरमुकामसँग जोडेको छ । यो सडकलाई कालोपत्रे गर्न प्रदेश नं १ सरकारले यसै आर्थिक वर्षमा दुई करोड रकम विनियोजन गरेको छ ।

खत्रक्पा जितपुर गाग्रेभञ्ज्याङ तिर्थमार्ग

खत्राक्पा जितपुर गाग्रेभञ्ज्याङ तिर्थमार्ग स्तरोन्नतीका निम्ति गुरु आश्रमले लगानी गरेको छ । यो सडकले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले ज्ञान प्राप्त गर्नुभएको स्थान जितपुर खत्रक्पा तथा किरात धर्मगुरुले तपस्या गर्नुभएको फुलुङ्गीदेखि जीतपुर गाग्रेभञ्ज्याङलाई जोडेको छ । यस सडकको स्तरोन्नतीका निम्ति गुरुआश्रमले रु ३२ लाख लगानी गरेको छ । यो मार्गबाट माई नगारपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाका जनता प्रत्यक्ष लाभान्वित भएका छन् ।

रक्से चुक्चिनाम्बा माङहीम मार्ग

रक्से चुक्चीनाम्बा सडक वि.सं. २०६४ मा निर्माण प्रारम्भ भएको हो । शुरुमा स्वदेश विदेशका भक्तजनहरुको जनश्रमदानमा सो मार्गको ट्रयाक खोलिएको थियो । करिव ३ कि.मि. लम्बाई रहेको यस सडकलाई वि.सं. २०७१ र २०७३ मा स्तरोन्नती गरिएको थियो । जसका लागि गुरु आश्रमले रु ३६ लाख ९३ हजार लगानी गरेको छ ।

फाल्गुनन्द मार्गको रक्से सडक खण्ड माङसेबुङ ६ मा जोडिएको यस मार्गले महागुरु फाल्गुनन्दले निर्माण गर्नुभएको चुक्चिनाम्बा माङहीम जाने भक्तजनलाई सहज बनाएको छ । यसका साथै चुक्चिनाम्बालगायतका इभाङका विभिन्न गाउँबासीलाई सवारी यात्रा, कृषि र पशुपालनका निम्ति सहयोग पुगेको छ ।

गुरुआश्रमले माङसेबुङ ६ मा अवस्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मस्थाने डाँडागाउँ र किरात धर्मगुरुको जन्मस्थान अगौटेबारीमा जाने मार्ग निर्माण गरिरहेको छ । जसले महागुरुको जन्मस्थानलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्न पूर्वाधार निर्माणमा सहयोग पुगेको छ । सो सडक निर्माणका निम्ति हालसम्म १२ लाख ७२ हजार खर्च भएको गुरु आश्रमले जनाएको छ ।

किरात धर्मगुरुको पहलमा निर्माण भएको मार्गहरु

किरात धर्मगुरुको प्रत्यक्ष लगानी र सहभागितामा ५० कि.मि.बढी सडक निर्माण भएका छन् । किरात धर्मगुरु सपरिवार माङसेबुङमा २०३५ देखि बस्दै आउनुभएको हो । किरात धर्म, भाषा, लिपि, संस्कृतिको विकास र बिस्तारका निम्ति कार्य गर्न उपयुक्त स्थानको खोजीमा धर्मगुरु परिवार माङसेबुङ आइपुगेको थियो । धर्मगुरु परिवारको माङसेबुङमा बसोबासको व्यवस्थापनमा सहयोग पु¥याएका केहेरसिं योङहाङका अनुसार त्यसबेला माङसेबुङ ज्यादै दुर्गम र एकान्त गाउँको रुपमा रहेको थियो ।

दुर्गम लारुम्बालाई सडक मार्गले जोड्न धर्मगुरुले सडक निर्माणको अनुरोध गर्न पैदल यात्रा गरेर वि.सं. २०४४ मा धनकुटा पुग्नुभएको थियो । त्यसबेला दमक रबी फाल्गुनन्द मार्ग निर्माणका निम्ति माग गर्नुभएको थियो ।

भेटी-सहयोगबाट सडक

गुरुआश्रमले सडक निर्माणका निम्ति खर्च गरेको अधिकांश रकम भेटी र सहयोगबाट प्राप्त भएको गुरुआश्रमले जनाएको छ । ‘भक्तजनले दिएको भेटीबाट विकास थालेको’ किरात धर्मगुरु बताउनुहुन्छ । किरात धर्मगुरु आश्रममा स्वदेश—विदेशका भक्तजनहरुले गुरुभेटी तथा बहुमूल्य बस्तुहरु चढाउने गरेका छन् ।

सडक निर्माणका निम्ति विभिन्न क्षेत्रमा पहल गरेपनि उपलब्धि नभएपछि गुरु स्वयम्ले सडक निर्माणमा लाग्नुभएको गुरुआश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ बताउनुहुन्छ । त्यसपछि गुरुआश्रम पूर्वाधार निर्माण समिति गठन गरियो । समितिको सक्रियतामा आर्थिक सहयोग संकलन गरियो । स्वदेश विदेशका भक्तजनहरुले राम्रो आर्थिक सहयोग गरे । गुरुआश्रमको भौतिक निर्माणमा सहयोग गर्ने महानुभवहरुलाई किरात धर्मगुरुले माङसेवा गरिदिने र धन्यवाद पत्र, तामापत्र र चाँदीका मेडलहरु वितरण गरियो । यसलाई माङवाहाङवा कार्यक्रमका रुपमा ३ वर्ष कार्यक्रमहरु आयोजना गरिएको थियो । सो कार्यक्रमले माङसेबुङको विकास पूर्वाधार निर्माणमा सहयोग पुगेको छ ।

मुलुक संघीय संरचनामा जानुअघि माङसेबुङ क्षेत्र बाँझो गाविसको वडा ९ मा पथ्र्यो । गाविसमा सानो आकारको बजेटमात्र थियो । सडक निर्माणका निम्ति पुग्दो बजेट थिएन । ‘सडक निर्माणका निम्ति धेरैतिर पहल गरेपनि खासै बजेट पाइएन्’, माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ सम्झनुहुन्छ,‘पछि गुरु अफैले सडक निर्माण शुरु गर्नुभएको हो ।’ माङसेबुङमा आउने सबै राष्ट्रप्रमुख, सरकार प्रमुख र नेताहरुलाई किरात धर्मगुरुले विकासका कार्य गर्न अनुरोध गर्दै आउनुभएको छ ।

माङसेबुङ गाउँपालिका सरकार गठनभएपछि माङसेबुङको विकास पूर्वाधार विकासका निम्ति बजेट छुट्ने गरेको छ । यसका साथै प्रदेश नं १ ले पनि माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ठूलो बजेटको विनियोजन भएको छ । जसले गुरुआश्रमलाई केही राहत महसुस भएको छ । ‘मलाई भक्तजनले दिएको भेटी खाईहाल्दा पनि हुन्थ्यो’ किरात धर्मगुरु भन्नुहुन्छ, ‘रोडमा खनेपछि राजा, देउता र जनता सबै हिड्न पाउँछन् ।’

धर्मगुरुको पहलमा निर्मित सडकहरु

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : १० बजे