६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

किरात लिपिका बारेमा एक धारणा



डकेन्द्रसिं थेगिम लिम्बु

हालसालै सामाजिक संजालमा बहसमा आएको किरात लिपिलाई किरात सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि कुन नाम उपयुक्त हो भन्ने बिषयमा बिबाद र बहसमा आएको छ। यस बिषयमा मेरो आफ्नै केही तर्क र ब्यक्तिगत धारणा रहीआएको छ ।

सर्वप्रथम त किरात लिपिको संरक्षण, पुनस्र्त्थान तथा प्रचारप्रसार गरेकै आधारमा लिपिको नाममा नवौं शताब्दीका सिरिजङ्गाहाङ वा सत्रौं शताब्दीमा ताप्लेजुङ सिनाममा जन्मनु भएका त्येअङसी सिरिजङ्गा सिंथेबेको नाम जोडेर किरात सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि वा लिम्बू लिपि भनेर किरात लिपिलाई साँगुरो घेरा भित्र राख्ने पक्षमा ब्यक्तिगत रूपमा म छैन किनकि प्रथम सिरिजङ्गाहाङ र द्वितीय सिरिजङ्गा जन्मनुभन्दा हजारौं बर्ष अघिदेखि नै किरात लिपि अस्तित्वमा थियो भनी प्रमाणित गर्ने केही तथ्यहरु तपसिल अनुसार छन् ।

किरात धर्मदर्शनका ७ महान मुहिगुम अङसीहरुमध्ये ३ मुहिगुम अङसीहरु ९ येहाङ , लेप्मुहाङ , कान्देनहाङ पछिका चौथो मुहिगुम अङसी युगपुरुषका रूपमा सुपरिचित नवौं शताब्दीका प्रथम सिरिजङ्गाहाङ हुन् वा सत्रौं शताब्दीका त्येअङसी सिरिजङ्गा सिंथेबे दुबै जना किरात लिपिका संरक्षक , प्रचारक र पुनस्र्त्थानकर्ता मात्रै हुन् । उहाँहरुभन्दा हजारौं बर्ष पुर्ब साम्जीक मुन्धुम पढेर धार्मिक संस्कार गर्ने चलन थियो । त्यसैगरी देशी विदेशी लेखक तथा इतिहासकारहरुका अनुसार ई. पु. ८०० मा काठमाडौ उपत्यकामा किरात राजा यलम्बरहाङले राजतन्त्रात्मक शासन ब्यबस्था स्थापना गरी ३२ वा ३३ औं पुस्ताका अन्तिम किरात राजा गस्तीसम्म आइपुग्दा हजारौं बर्षको अवधिसम्म किरात राजाहरुले शासन गरे। त्यस अवधिमा लिपिको बिकास भएको थिएन भन्न मिल्दैन।

इतिहासकार इमानसिं चेम्जोङद्वारा संकलित लिखित किरातको बेद पुस्तकको पृष्ठ २५ को बुँदा नं १७६ मा यसो भनिएको छ ( तागेरा निङवाभुमाङले सावागेन येहाङ हुक ओ थुङसाप पिरुरो। थुप्मेन्दिङ पेङवा होबा ओ थुङसाप पेसाप साप्तु पिरुरो । भावार्थ ( जताबाट पनि आइपुग्ने उज्यालो आत्मा ईश्वरले येहाङको हातमा शास्त्र दिए । मुडुली मृगको छालामा मनमा पिएर राख्ने ९ मौखिक० शास्त्र तथा पुस्तकमा लेखेर राख्ने (लिखित) शास्त्र लेखेर दिए । यसबाट के प्रमाणित हुन्छ भने दशौं हजार बर्ष अगाडि येहाङको समयमा नै स्वयं माङबाट मुन्धुम पढ्ने लेख्ने लिपिको बिकास भैसकेको थियो । यश कालखण्डमा बिकास भएको यो लिपिलाई कतै कतै येहाङ लिपि पनि भन्ने गरिएको छ र त्यही लिपिलाई नै पछिल्लो समयमा सिरिजङ्गा द्वयद्वारा परिमार्जन , पुनस्र्त्थान र प्रचारप्रसार गरिएको पुष्टि हुन्छ।

त्यसैगरी येहाङ मुन्धुमकै पृष्ठ २६ को बुँदा नं १८२ मा फेजिकुम फेदाङमा कर्मकाण्डी पुजारीले मानिस जन्मदा , मर्दा र बिबाह गर्दा येच्छामबाचा साप्ला (कर्मकाण्डको शास्त्र) पढी शुद्ध गर्छन् ,लग्न गर्छन् भनी स्पष्ट उल्लेख छ। यसबाट पनि किरात लिपि पहिल्यै थियो भन्ने प्रष्ट छ।

हजारौं हजार बर्ष अगाडि जल प्रलयकालीन दोस्रो मुहिगुम अङसी सोधुङगेन लेप्मुहाङ् खाहुन अन्तर्गत  यावा माङखोमा थिम अन्नबाली लगाउँदा पुजा गर्ने विधि शीर्षकमा उही पुस्तकको पृष्ठ ४५ बुँदा नं १ मा लादियो नामदियो (बाती) बाल्नु । थोकसाप पेसाप होन्माआङ (शास्त्र खोली) फुल चढाई धुप धुँवारले पवित्र गराई पढ्न शुरु गर्नु। यी उपरोक्त भनाइले किरात लिम्बुको थुतुरी बेद वा मौखिक बेद मात्र हो लिखित होइन भनी जिकिर गर्नेहरुलाई दह्रो झापट दिन्छ।

ऐ.पुस्तकको पृष्ठ ७४ मा तेस्रा युगपुरुष सन्त महात्मा कान्देनहाङको उपदेश शीर्षक अन्तर्गत बुँदा नं २७ मा सन्त कान्देनहाङले आफ्नो प्रजाहरुमा बिद्या प्रचार गरे । पुराना पुराना पुराना पुस्तकहरु खोज तलास गरी फेरि राम्रो ढंगले लेखे आदि । यसपछि हजारौं बर्षको अन्तरालमा चौथो क्रममा जन्म लिने युगपुरुष सिरिजङ्गाहाङ हुन् । उनले उही तीन अग्रज येहाङ , लेप्मुहाङ र कान्देनहाङको पालामा भएको लिपिको संरक्षण , पुनस्र्त्थान , परिमार्जन र प्रचारप्रसार गरेका हुन् भन्ने स्वतसिद्ध छ।

मञ्जुल याक्थुम्बाको जुलाई २५ जनवरीमा प्रकाशित  सिरिजङ्गा किरात लिपिका अबिष्कारक होइनन् , पुनस्र्त्थानकर्ता मात्र हुन् । लेख अनुसार सर फ्रान्सिस ह्यामिल्टन बुकाननद्वारा लिखित An Account of the kigdom Of Nepal and sorrounding territories annexed (1819) पुस्तकमा ई। पु। ४००० बर्ष अर्थात् ६००० बर्ष अघि पर्सियाको खाडीको उत्तरी समभुमिमा बस्ने सौमर किरातहरुसँग एक प्रकारको अक्षर भएको कुरा उल्लेख छ। यसबाट पनि के प्रष्ट हुन्छ भने आजभन्दा ६००० बर्ष अघि नै किरात लिपिको अस्तित्व रहेको कुरा प्रमाणित हुन्छ।

आजभन्दा ई.पु ५०० अर्थात २५०० बर्ष अघि पुरानो बौद्ध धर्मग्रन्थ ललित बिस्तरमा ११ औं स्थानमा किरात लिपि उल्लेख छ।
इमानसिं चेम्जोङका अनुसार ( बर्तमान नेपालको पहाडी प्रदेशलाई अघि किरात देश भनिन्थ्यो। उवाहाङका मृत्युपछि माबोहाङ किरात मुलुकका राजा भए । यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने ११ औं शताब्दीका राजा माबोहाङ सिरिजङ्गाहाङ पछिका पाँचौ मुहिगुम अङसी हुन् । यिनै माबोहाङका पुर्खा बाजे लासाहाङ ल्हासा तिब्बतका हुन् । तिब्बतमा याक्थुङ लिम्बू थिएनन् र छैनन् । तिब्बतबाट नेपालको सुदूर पुर्बी पहाडी इलाका चेम्फुजोङमा शासन गर्दासम्म माबोहाङ लिम्बू याक्थुङ भैसकेका थिएनन् । त्योबेलासम्म किरात देशका राजा किरात मात्रै थिए र याक्थुङ लिम्बू भन्ने थरको बिकास भई नसकेको अवस्था बुझिन्छ।त्यसो हो भने सिरिजङ्गाहाङ करीब २०० बर्ष अघिका किरातकालिक राजा हुन् । यसो भएपछि किरात देशका किरात राजा सिरिजाङ्गाहाङले संरक्षण गरेको किरात लिपिलाई यदाकदा लिम्बू लिपि भनेर दावी गर्ने पनि भेटिन्छन् । त्यसो भन्न मिल्ला र ?

प्रा. शिवकुमार श्रेष्ठद्वारा लिखित लिम्बुवानको ऐतिहासिक अध्ययन दोस्रो संस्करणमा सिरिजङ्गाहाङले किरात लिपिको पुनस्र्त्थान गरी प्रचारप्रसार गर्नमा योगदान गरे भन्ने प्रष्ट उल्लेख छ।

इमानसिं चेम्जोङद्वारा अंग्रेजीमा लिखित किरात इतिहास तथा संस्कृति नामक पुस्तकमा कुम्भकर्ण (फक्ताङलुङ) हिमालको फेदीको गुफामा पातलो ढुंगामा लेखिएको लिपिहरु निसाममाङ (विद्याकी देवी मालिक्नी , सरस्वती) ले सिरिजङ्गाहाङलाई दिएको कुरा मुन्धुममा उल्लेख भएको कुरा उल्लेख छ। यसबाट पनि सिरिजङ्गाहाङको पालाभन्दा अघि नै किरात लिपि अस्तित्वमा रहेको प्रमाणित हुन्छ।

तत्कालीन श्री ५ को सरकार शिक्षा मन्त्रालय पुरातत्त्व बिभाग राष्ट्रिय अनुसन्धान शाखाको लिपि बिकास तालिकामा किरात लिपि भनेर अभिलेखिकरण गरिएकोले किरात लिपिले मान्यता प्राप्त गरिसकेपछि हाल आएर लिपिको नाम परिमार्जन गर्न खोज्नु दुस्खद हो।

अन्त्यमा , किरात लिपि सर्वाधिक प्राचीन लिपि हो। विभिन्न समयको कालखण्डमा लोपोन्मुख हुँदै गर्दा किरात युगपुरुष तथा मुहिगुम अङसीहरु र केही बिद्वानहरुले पुनस्र्त्थान , संरक्षण , सम्बर्द्धन र प्रचारप्रसार गर्दै आएको बुझिन्छ। यसै सन्दर्भमा किरात लिपि भाषा साहित्यको पुनस्र्त्थान र संरक्षण सम्बर्द्धन गर्ने क्रममा पछिल्लो समयमा राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द लिङ्देन र बर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको अहम भुमिका रही आएको छ। तत्कालीन एकतन्त्रीय राणा शासनकालमा र महागुरु फाल्गुनन्दलाई हत्कडी लगाएर राजदरबारसम्म पुग्नु परेको थियो भने निर्दलीय पंचायत ब्यबस्था रहेको शासनकालमा बर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको टाउकोको मोल तोकिनु परेको थियो। तर फक्ताङलुङ हिमाल जस्तो अटल र दृढ बिचारले युक्त सिद्ध महात्माहरु आफ्नो लक्ष्य प्राप्त गर्न दुबैमा किञ्चित बिचलन आएन।

अन्ततः सफलता हासिक गरेरै छाड्नुभयो। यस क्रममा बर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको पहलमा किरात लिपि, भाषा, साहित्यको उत्थानका लागि महान ऐतिहासिक कार्यहरु भएका छन् । उहाँकै पालामा बिश्वमै पहिलोपटक बि। सं २०३६ सालमा किरात धर्म तथा साहित्य उत्थान संघको स्थापना र किरात प्रिन्टिङ प्रेस दमक झापामा स्थापना गर्न सफल हुनुभयो । त्यसैगरी बिश्वमा पहिलोपटक माङसेबुङमा २०७१ सालमा किरात लिपि र भाषाको पठनपाठन हुने किरात साम्जीक मुन्धुम आधारभूत विद्यालय स्थापना गर्न सफल हुनुभयो भने नेपालमा पहिलोपटक २०७५ साल मंसीर १३ मा आफ्नो कर्मभुमी माङसेबुङमा किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा मान्यता प्राप्त गर्न वडाबाट घोषणा गराउन सफल हुनुभयो । अर्को गर्वको कुरा महागुरु फाल्गुनन्ददेखि बर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनसम्म आइपुग्दा सबैभन्दा बढी किरात लिपि र किरात (मुन्धुम) भाषा प्रयोगमा ल्याउने नै किरात सत्यहाङमा अनुयायीहरु छन् ।

इलाम माङ्सेबुङमा मात्रै संचालित २ वटा किरात साम्जीक मुन्धुम निसामहिममा सैयौंको संख्यामा अघ्ययनरत विद्यार्थी छन् जहाँ अंग्रेजी र नेपाली बाहेक सबै बिषय किरात मुन्धुम रलिम्बु भाषामा पठनपाठन हुन्छ भने लारुम्बा माङसेबुङबाट उत्पादन भएका ५ र ७ सय साङ्दाङ्गेन वारुमसाबा लगायत देश बिदेशमा गरि करीब २५०० जनाको संख्यामा कर्मकाण्ड साम्जीक मुन्धुम प्रयोग गर्ने सेवासाबाहरु छन् । यसबाट के प्रमाणित हुन्छ भने महागुरु फाल्गुनन्द र धर्मगुरु आत्मानन्द लिङ्देनका शिष्य तथा अनुयायीहरुले नै दैनिकरुपमा सबैभन्दा बढी किरात लिपि र भाषा मुन्धुम को प्रयोग गरी किरात मुन्धुम भाषा सहित्यको उत्थानका साथसाथै किरात लिपिको जगेर्ना, संरक्षण, सम्बर्द्धन हुँदै आएको छ। तर यसो भन्दैमा किरात लिपिमा किरात सिरिजङ्गा लिपि भने झैं उहाँहरुको नाम जोड्नु आबश्यक छैन।

त्यसैले किरात लिपिको पुनस्र्त्थान, संरक्षण र प्रचारप्रसार गर्ने बारेमा सिरिजङ्गा, लालसोर सेन्दाङ, फाल्गुनन्द, रन्धोज नेम्बाङ, इमानसिं चेम्जोङ, धर्मगुरु आत्मानन्द लिङ्देन आदि सबैको बिशेष योगदान छ तर लिपिको नाम किरात लिपि भनेर गयौं भने आफुलाई किरात भन्न गर्व गर्ने राई, लिम्बू, याक्खा, सुनुवार जिरेल, सुरेल, थामी, हायु आदि किरात समुदाय सबैको साझा लिपि बन्न जान्छ र सबैमा किरात लिपिप्रति अपनत्वको बोध र महसुस हुन्छ ।

लेखक किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष हुनुहुन्छ ।

माङसेबुङ ५ इलाम

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ९ : २० बजे