किरात समाचार : किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ जिल्ला कार्यसमिति र मुक्कुमलुङ संघर्ष समितिले ताप्लेजुङको मुक्कुमलुङ ( पाथीभरा ) मा केवलकार नबनाउन माग गर्दै समितिले पत्रकार सम्मेलन गरेको छ ।
मंगलबार पत्रकार महासंघ ताप्लेजुङको हलमा कियाचु जिल्ला समिति ताप्लेजुङ र संघर्ष समितिले फुङ्लिङ नगरपालिकाले केवलकार निर्माण कम्पनी को कार्यअवधि म्याद थपगरि नवीकरण गरिएको प्रति गम्भीर आपत्ति रहेको जनाउदै पत्रकार सम्मेलन गरेको हो ।
चुम्लुङले विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेको छ । ‘ याक्थुङ लिम्बुहरुको पबित्र मुन्धुमि स्थल मुक्कुमलुङ परिसरमा एउटा प्राइभेट कम्पनीले नितान्त ब्याक्तीगत र ब्यापारीक फाइदाको लागि ILO 169 र आदिवासीहरुको भुमि प्रतिको अधिकारको हितबिपरित पर्यावरणिय असर पर्नेगरि स्थानीय सरोकारवालाहरुसंग छलफल नगरि प्रारम्भिक कार्यहरू अघि बढाएको प्रति गम्भीर ध्यानाकर्षण गराउदै चरणबद्ध आन्दोलन गरि अघि बढ्ने र यसबाट हुने सम्पुर्ण क्षतिको जिम्मेवार स्वयम् नगर सरकार हुनुपर्ने छ । उक्त विज्ञप्तिमा भनिएको छ ।
चुम्लुङका अध्यक्ष इन्दिरा मेन्याङ्वोले भने ‘हाम्रो मागप्रति कुनै सुनुवाई नगरी काम भए आफूहरू सशक्त प्रतिवादमा उत्रने बताएका छन् । गत असार २९ गतेको कार्यपालिका बैठकले केबलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो भने भोलिपल्ट असार ३० गते पाथीभरा माता केवलकार कम्पनीको म्याद थप गरिएको थियो ।
संघर्ष समितिले राखेका मुख्य माग यस्ता छन्
१, धार्मिक स्थल पाथीभरालाई मौलिक, ऐतिहासिक, पौराणिक दृष्टीले मुन्धुमी नाम मुकुम्लुङ राखिनुपर्ने ।
२, नेपाल सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेज गरी स्थानीय रैथाने आदिवासी अधिकारवालाहरूको सहमति, नेतृत्व र संलग्नतामा मुकुम्लुङ क्षेत्र विकास समिति गठन गनुपर्ने ।
३, सरकारले मुकुम्लुङ क्षेत्रमा कुनै पनि निर्माण कार्यका लागि कम्पनीसँग गरेको सम्झौता खारेज गनुपर्ने ।
४, रैथाने याक्थुङ लिम्बूहरुको सांस्कृतिक र मुन्धुमी आधारमा मुकुम्लुङको विकास, संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्ने ।