किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं वर्षमा प्रवेश गर्नुभएको छ। वहाँ ६ दशकयता धार्मिकसँगै सामाजिक कार्यमा तल्लीन हुनुहुन्छ। यस लेखमा वहाँको गर्नुभएका १० महत्त्वपूर्व कार्यको चर्चा गर्ने प्रयास गरिएको छ।
१. किरात धार्मिक राष्ट्रियताको बिस्तार
किरात धर्मगुरुको अधिकांश समय किरात धर्मलाई संस्थागत गर्ने कार्यमा बितेको छ। किरातीहरू नेपालको आदिम जातिको रुपमा रहेका ठूलो मानव शाखा हो। किरात जातिहरूको भाषा, संस्कृति एवं धर्म हिन्दु र बौद्ध धर्मभन्दा बेगल रहेको समाजशास्त्रीहरू उल्लेख गर्दछन्। किरातीहरूको आफ्नै धार्मिक, सांस्कृतिक र भाषिक विशिष्ठता छ। तर, राज्यले लामो समयदेखि किरात जातिहरूलाई हिन्दु धर्मावलम्बीको रुपमा चिनाउने प्रयास गरेको थियो।
२०३५ सालमा इलाम जिल्लाको माई नगरपालिका वडा नं. ७ तमाखेमा धर्मगुरुले एक गोप्य बैठक बोलाउनुभयो। जहाँ धर्म, भाषा, लिपि विकासमा ज्यान दिएर लाग्ने कठिन निर्णय भयो। त्यस बेलाको निरंकुश एकात्मक पञ्चायती व्यवस्थामा आफ्नो धर्म र संस्कृति विषयको उठान गर्नु ज्यादै जोखिम थियो। त्यही बेला प्रशासनबाट वहाँको टाउकोको मोल समेत तोकिएको थियो।
किरात धर्मगुरुको पहलमा २०३६ सालमा ‘किरात धर्म तथा साहित्य उत्थान संघ’को स्थापना भयो। संघको संस्थापक अध्यक्ष वहाँ नै रहनुभयो। हाल नेपालका साथै दर्जनौं मुलुकमा किरात धर्म तथा साहित्य उत्थान संघको समिति गठन भएका छन्। मुन्धुम प्रकाशन, माङहिमहरू व्यवस्थापन र धर्मगुरुको जन्मोत्सव सञ्चालन गर्न किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा नामक अर्को संस्थाको स्थापना गरिएको छ। माङसेवासाबा, संस्कृतिक कार्यक्रम, युवा, भूतपूर्व सैनिक, सञ्चार र खेलकुदलाई समेट्न माङगेन्ना सेवाका भगिनी संगठनहरू निर्माण गरिएका छन्।
धर्मगुरुको पहलमा २०५७ सालमा ‘किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन’ काठमाडौंमा सम्पन्न भयो। उक्त सम्मेलनले प्रकृतिको पूजा गर्ने, सर्वशक्तिमान तागेरा निङवाभूमाङमा विश्वास गर्ने र मौखिक वा लिखित मुन्धुमको प्रयोग गर्ने, बलिपूजा गर्ने हुन् वा फूलफलेदोले पूजा गर्ने समग्रमा किरात धर्मावलम्बी हुन् भन्ने निश्कर्ष निकालेको थियो। वि.सं २०६७ मा ‘किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन’ भयो।
किरात धर्मगुरुले राष्ट्रिय जनगणनामा किरात धर्म लेखाउने अभियान २०३८ सालको जनगणनादेखि चलाउनुभयो। किराती जातिहरूलाई जनगणनामा किरात धर्म लेखाउन पहल गर्नुभयो। जसको परिणाम स्वरुप आदिम कालदेखि किरात जातिको विश्वास, संस्कृति, मूल्यमान्यता ‘किरात धर्म’को रुपमा स्थापित हुनपुग्यो। जनसंख्याको आधारमा अहिले किरात धर्म नेपालको चौथो ठूलो धर्मको रुपमा रहेको छ।
२. मुन्धुम शिक्षाको विकास
किरात धर्मगुरुले २०४० मंसिर १८ देखि चैतसम्म माङसेबुङ गाउँपालिका वडा नं. ५ स्थित मेक्वाबेंसीमा मुन्धुम पठनपाठन गर्नुभयो। त्यसबेला नौ जनाले मुन्धुमको कक्षा लिएका थिए। मुन्धुम पठनपाठनका निम्ति सेउलाले बारिएको डेरा निर्माण गरिएको थियो। त्यसबेला धर्मगुरुले मुन्धुम अध्यापनका साथै माङसेवा र ध्यानसम्बन्धी कक्षा दिनुभएको थियो। तत्कालीन पञ्चायती निरंकुश सरकारको कडा निगरानी र सोध खोज गर्न थालेपछि पठनपाठन छोटो समयमा रोक्नुपरेको थियो।
२०५० सालपछि मुन्धुमको कक्षागत रुपमा पठनपाठन शुरु गरियो। २०५५ सालसम्म कक्षा ३ सम्मको कक्षा सञ्चालन भयो। २०५६ मंसिर १८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘किरात साम्जीक मुन्धुम निसामहिम’को उद्घाटन गर्नुभयो। त्यसपछि मुन्धुम शिक्षाको पाठ्यक्रम र परीक्षाको व्यवस्था गरियो। त्यसअघि मुन्धुम निसामहिममा साम्जीक मुन्धुम, खाइक, शसिगेन, साक्थिम, किरात साम्पान आदि विषय पठनपाठन गरिन्थ्यो। त्यसबेला मुन्धुम अध्ययनको उद्देश्य माङसेवासाबा उत्पादन गर्नु थियो। २०५८ देखि मुन्धुम निसामहिममा अंग्रेजी, गणित, विज्ञान र सामाजिक जस्ता विषयहरू थप गरियो।
किरात धर्मगुरुको सोही मुन्धुम शिक्षाको अभियानलाई सरकारले मुन्धुम शिक्षाको मान्यता प्रदान गरेको छ। नेपाली शिक्षा प्रणालीमा माध्यमिक शिक्षालाई साधारण, प्राविधिक तथा व्यावसायिक र परम्परागत धार्मिक शिक्षाका रुपमा वर्गीकरण गरिएको छ। परम्परागत धार्मिक शिक्षामा गुरुकुल शिक्षा, गुम्बा शिक्षा, मदरसा शिक्षा र मुन्धुम शिक्षा पर्दछन्।
हाल माङसेवासाबा उत्पादन गर्ने किरात साम्जीक मुन्धुम निसामहिम र एकेडेमिक विद्यार्थी उत्पादन गर्ने किरात साम्जीक मुन्धुम युक्सिङ निसामहिम रहेका छन्। मुन्धुम शिक्षाका निम्ति पाठ्यक्रम विकास केन्द्रले कक्षा ५ सम्म पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेको छ। साथै, माङसेबुङ गाउँपालिकाले माध्यमिक तहसम्मको मुन्धुम शिक्षाको पाठ्यक्रम निर्माण गरेको छ।
३. कृषिमा जोड
कृषि नेपाली जनजीवनको आधार हो। नेपाली अर्थतन्त्र कृषिमा आधारित छ। हामीसँग कृषिसम्बन्धी थुप्रै परम्परागत ज्ञान छन्। मुन्धुमी जीवन पद्धतिका निम्ति कृषि आवश्यक हुन्छ। अन्न पाकेपछि चासोक गर्ने, बीऊ लाउनपूर्व खिबेक्वा सेवा गर्ने किरात जातिहरूको परम्परा हो। पछिल्लो दशकमा नेपालको करिब २५ लाख युवा रोजगारका लागि देशबाहिर छन्। देशभित्रै रहेका पनि शहरी क्षेत्रमा छन्। त्यसैले ग्रामीण क्षेत्रका धेरै जमिन बाँझिएको छ। जङ्गल बढेको छ। युवा पुस्ता कृषिबाट विमुख भइरहेका बेला धर्मगुरुले कृषि र पशुपालनका निम्ति प्रेरित गर्दै आउनुभएको छ।
माङसेबुङ गाउँपालिका–५ अवस्थित धर्मगुरुको आश्रममा ठूलो कृषि खेती र पशुपालन रहेको छ। गुरु आश्रममा अग्र्यानिक अन्न, सागसब्जी र दुध उत्पादन हुन्छ। गुरुआश्रममा आउने भक्तजनहरूका निम्ति खेतीबाट उत्पादित अन्नबाट निःशुल्क खाना उपलब्ध हुन्छ। सयौं रोपनीमा रहेको गुरुआश्रमका खेतीको नेतृत्व गुरुआमा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबाले गर्नुहुन्छ। साँझ–बिहान वहाँ खेतीमा तल्लीन हुनुहुन्छ।
४. माङसेबुङ विकास
नेपालका ७५३ स्थानीय तहमध्ये एक हो, माङसेबुङ गाउँपालिका। ‘माङसेबुङ’ स्थापना किरात धर्मगुरुसँग सम्बन्धित छ। माङसेबुङ यसअघि मान्द्रेडाँडाको रुपमा परिचित थियो। किरात धर्मगुरु २०११ मंसिर १८ गते साविक इलाम जिल्लाको इभाङ चुक्चिनाम्बामा जन्मनुभयो। वहाँले इलाम, पाँचथर र झापाका विभिन्न स्थानहरूमा गुरुआश्रमको निम्ति ठाउँको खोजी गर्नुभयो। कतै पाइएन। तर, साविक बाँझो–९, स्थित सुभाबारी लारुम्बामा बसोबासको अवसर जुर्यो। २०३३ सालदेखि सपरिवार सो स्थानमा बसोबास गर्न थाल्नुभयो। किरात धर्मगुरु लारुम्बामा बसोबास गर्नुभएपछि विभिन्न स्थानहरूबाट भक्तजनहरू आउन थाले। धार्मिक गतिविधि बढे। वार्षिक धार्मिक कार्यक्रमहरू सञ्चालन हुन थाले। ‘यो ठाउँ माङले रोजेको रहेछ। धेरै ठाउँ खोज्दा पनि पाइएन। यसै ठाउँमा बस्न आइयो’, धर्मगुरुले भन्नुभयो। माङले छानेको पवित्र स्थानम ‘माङसेबुङ’ भनेर सो स्थानको नामाकरण भयो।
माङसेबुङ माथिल्लो चुरे क्षेत्रमा पर्दछ। यो क्षेत्रमा अति पातलो बसोबास र दुर्गम क्षेत्रका रुपमा रहेको थियो। माङसेबुङको विकासका निम्ति धर्मगुरु अहोरात्र लाग्नुभयो। माङसेबुङलाई तराई र पहाडबाट सडकले जोड्न, खानेपानी, विद्यालय, स्वाथ्य र विद्युत्का पूर्वधार विकासका निम्ति निरन्तर लागिरहनुभएको छ। जसले गर्दा स्वदेश तथा विदेशबाट आउने हजारौं भक्तजनहरूलाई तीर्थघाटनका निम्ति सहज भएको छ। २०७४ सालमा साविक बाँझो, इभाङ र गजुरमुखी गाविस मिलाएर माङसेबुङ गाउँपालिका नामकरण भयो।
५. शाकाहारी जीवन पद्धतिको अभियान
किरात धर्मगुरु शाकाहारी जीवन पद्धति अभियान हुनुहुन्छ। शाकाहारी जीवनपद्धति अँगाल्न आफ्ना भक्तजन र सम्पूर्णमा अनुरोध गर्दै आउनुभएको छ। जाँड, रक्सी, चुरोट, खैनी, गाँजा, चरेस र मासुमंसको सेवन नगर्न अभियान चलाउँदै आउनुभएको छ।
मदमदिरा तथा जाँड–रक्सीले समाज र व्यक्ति दुवैको स्वाथ्यमा प्रतिकूल असर पार्दछ। मदमदिरा सेवनले समाजमा झगडा र अपराधलाई बढवा दिन्छ। धर्मगुरुले आफ्ना प्रवचनमा शाकाहारी जीवनपद्धतिका निम्ति अनुरोध गर्दै आउनुभएको छ। जसका कारण संसारभर छरिएका वहाँका लाखौं अनुयायीहरूले शाकाहारी जीवन पद्धति अँलाल्दै आएका छन्। माङसेबुङ क्षेत्रलाई शाकाहारी नगरको रुपमा विकास गर्न वहाँले पहल गर्नुभएको छ। जसका कारण माङसेबुङलाई शाकाहारी क्षेत्र मात्र होइन, मदमदिरा र धूमपानमुक्त क्षेत्र घोषणा गरिएको छ।
६. आध्यात्मिकताको विकास
समाजमा आध्यात्मिकताको विकासका निम्ति किरात धर्मगुरु आजीवन लाग्नुभएको छ। मानिसमा माङप्रतिको आस्था, अनुशासन, उच्च नैतिकता, दया, माया र सद्भाव विकासमा बाल्यकालदेखि नै समर्पित हुनुहुन्छ।
धर्मगुरुका जीवनकालमा नेपालका विभिन्न स्थानमा सयौं माङहिम स्थापना भएका छन्। घरमा नियमित माङसेवा गर्ने, नयाँ बाली पाकेपछि चासोक र बीउ छरपोक गर्नु पूर्व गरिने याक्वा सेवालाई पर्वका रुपमा संस्थागत विकास गर्नुभयो। धर्मगुरुको जन्मोत्सव मंसिर १८ को अवसरमा संस्थागत रुपमा चासोक सेवा गर्ने काम २०३६ यता भइरहेको छ। यसैगरी माघ ४ देखि ७ सम्म याक्वा सेवा पर्वको रुपमा संस्थागत भइरहेको छ। खोलानाला, डाँडापाखा र हिमाल आदिलाई माङको अंशको रुपमा पुज्ने कार्य गर्दै आउनुभएको छ। मानिसलाई प्रकृतिसँग विवेकपूर्ण अन्तरक्रियामा सहयोग पुगेको छ।
एक व्यक्ति पूर्ण स्वाथ्य बन्न उनमा आध्यात्मिकताको विकास हुनपर्ने विश्व स्वाथ्य संगठनले निश्कर्ष निकालेको छ। व्यक्ति शारीरिक, मानसिक र सामाजिक रुपमा मात्र स्वस्थ्य भएर पुग्दैन। पछिल्लो शताब्दीमा संसारमा तीव्र भौतिक विकास भइरहेका छन्। विज्ञान र प्रविधिले थुप्रै सुविधा प्रदान गरेको छ। तर, आत्मा शान्ति र सन्तुष्टि प्रदान गर्न सकेको छैन। भौतिकताको अन्धो दौडले मानवता र आध्यात्मिकताको खरेडी बढिरहेको छ। त्यही अभावलाई पूरा गर्न धर्मगुरु निरन्तर लागिरहनुभएको छ।
७. भाषा, लिपि र संस्कृतिको संरक्षण र प्रवर्द्धन
किरात धर्मगुरुको २०३५ साल इलाम जिल्लाको साविक महमाईको तमाखे जंगलमा आफ्ना अनुयायीहरूको एक गोप्य बैठक बोलाउनुभयो। ‘बैठकमा धर्म, भाषा र लिपि संरक्षण र विकासका निम्ति महत्त्वपूर्ण निर्यणहरू गरिया’, बैठकमा सहभागीमध्ये एक केहेरसिङ योङहाङ स्मरण गर्नुहुन्छ। सोही गोप्य बैठकमा सहभागीहरूले निर्णयमा आफ्नो रगतको ल्याप्चे सही गरेका थिए। तमाखे बैठकले लिपि छाप्ने एक प्रेस स्थापना गर्ने निर्णय गरेको थियो। सोही अनुरुप संसारमै किरात लिपिमा छाप्ने पहिले प्रेस ‘किरात प्रिन्टिङ प्रेस’ झापाको दमकमा स्थापना गरियो। मुन्धुम शिक्षाका औपचारिक कक्षाहरू शुरु गर्नुभयो।
किरात जातिमा प्रचलित परम्परगत गीत पालाम, ख्याली, हाक्पारे र नाचहरू केलाङ, माङलाङ, येबालाङ, साकेला, हुर्रा आदिको संरक्षण गर्न किरात साम्यो साक्थिम्गेन पान्जुम्भो स्थापना गर्नुभयो। सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक सामग्रीहरू खरिद गर्न किरात धर्मगुरु आफैं जोगमनी जानुभएको केहेरसिङ योङहाङ बताउनु हुन्छ। २०३५ साल यता माङसेबुङ मौलिक सांस्कृतिक गीत र नाचहरू प्रस्तुत हुने केन्द्रका रुपमा रहँदै आएको छ।
यसैगरी किरातीहरूको मौलिक पहिरन तागा, मेख्ली, सुम्जाङ, हाङजाङ, पहके, सर्दके जस्ता पहिरनहरूको संरक्षरण र प्रवर्द्धनका निम्ति लागिपर्नुभएको छ। २०५७ सालमा काठमाडौंकामा सम्पन्न ‘किरात धर्म प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’मा तागा, मेख्लीको व्यापक प्रदर्शन गरिएको थियो। महासम्मेलनमा सहभागी सबैले तागा र मेख्ली अनिवार्य पहिरिनुपर्ने व्यवस्था गरिएको थियो। यति धेरै संख्यामा एकैपटक तागा र मेख्ली पहिरिएको यो नै पहिलो पटक थियो। वहाँले किरात धार्मिक कार्यक्रममा अनिवार्य रुपमा तागा, मेख्लीको प्रयोगमा जोड दिंदै आउनुभएको छ। जसका कारण संसारका लाखौं भक्तजनहरूले मौलिक पहिरन लगाउने गरेका छन्। यसैगरी तागा, मेख्ली विभिन्न डिजाइनमा, विभिन्न रंगमा पहिरने चलन अत्याधिक रुपमा बढेको छ।
नेपाली प्राचीन भाषाको रुपमा किरात भाषा र लिपिको संरक्षण र सम्बद्र्धनमा किरात धर्मगुरुको महत्त्वपूर्ण योगदान रहेको छ। किरात धर्मगुरुको तीन दशक निरंकुश र हिन्दु एकात्मक पञ्चायती व्यवस्थामा बित्यो। २०१७ सालमा राजा महेन्द्रले दलहरूमाथि प्रतिबन्ध लगाएर पञ्चायती व्यवस्थाको शुरुवात गरे। पञ्चायती व्यवस्थामा खस नेपाली भाषालाई शिक्षाका माध्यमका रुपमा लागू गरियो। मुलुकमा हिन्दुत्वलाई चरम रुपमा लागू गरियो। लिम्बुवानको किपट उन्मुलन गरियो। हिन्दु धर्म र खस भाषालाई राष्ट्रियताका मूल आधार बनाइएको थियो। त्यसबेला आफ्नो भाषा लिपि र संस्कृतिको प्रचारप्रसार गर्नुलाई अराष्ट्रिय तत्त्व मानिन्थ्यो।
८. पहिचान र अधिकार खोजी
नेपालमा सदियौंदेखि एकात्मक हिन्दु राज्यको रुपमा रह्यो। नेपाल एकीकरणको क्रममा आदिवासीले चलाउँदै आएका अनेकौं राज्य मिलान गरियो। ती क्षेत्रमा हिन्दुत्व लादियो। मुलुकका सबै धर्म, भाषा र संस्कृतिले राज्यबाट समान संरक्षण पाएनन्। नेपालको भौगोलिक एकीकरणपछिको एकात्मक राज्यले भाषिक, सांस्कृतिक, धार्मिक र राजनीतिक विभेद सिर्जना गरेको थियो। विभेदमा पारिकएका जनताको माङ्गेन्ना ढालिदियो। जसले मुलुकको राष्ट्रियता सधैं कमजोर र खतरामा पारिहेको थियो।
किरात धर्मगुरुले नेपालका आदिवासी, जनजाति, दलित र महिलाका अधिकारका निम्ति संघीय शासन प्रणाली आवश्यक भएको बताउँदै आउनुभएको छ। सबै जाति, वर्ग, क्षेत्र र लिङ्गलाई अधिकार सम्पन्न गराए मात्र मुलुक सफल हुने र मुलुकमा शान्ति हुने वहाँको मत छ। आदिवासीका पहिचानमा आधारित संघीय राज्यहरू स्थापना गर्न दलहरू खोल्न, धर्म निरपेक्षता र पहिचानका निम्ति शान्तिपूर्ण आन्दोलनहरूमा वहाँले प्रेरित गर्दै आउनुभएको छ। त्यसैगरी वहाँलाई भेट्न आउने राष्ट्र प्रमुख र सरकार प्रमुखहरूलाई सबै नागरिकलाई अधिकार सम्पन्न गराउन अनुरोध गर्दै आउनुभएको छ।
९. शान्तिको पहल
‘विश्व शान्ति र मानव एकता’ लाई किरात धर्मगुरुले आफ्नो मुल दर्शनका रुपमा अघि बढाउनुभएको छ। ‘संसारलाई सुन्दर फूलबारी’का रुपमा विकास गर्न धर्तीका सबै मानव मिलेर बस्नुपर्नेमा वहाँको जोड छ।
विश्व शान्तिको कामना गर्दै माङसेबुङ गाउँपालिका–५ मा रहेका किरात धर्मको केन्द्रिय माङहिम ‘किरात हाङसाम मुजोत्लुङ माङहिम’मा २०५० सालयता अखण्ड महाबत्ति प्रज्वलन गरिएको छ। यस्तै, दिनहुँ सेवा हुँदै आएको छ। विश्व शान्तिको कामना गर्दै २०७६ सालमा फक्ताङलुङमा सेवा लगाउनुभयो। माङसेबुङ र माङसेबुङहिर आयोजना हुने कार्यक्रमहरूमा किरात धर्मगुरुले विश्व शान्ति र मानव एकताको सन्देश दिंदै आउनुभएको छ।
१०.मुन्धुम प्रकाशन
महागुरु फाल्गुनन्द लिङ्देनको अगुवाइमा १९८८ बैसाक २४—२८ गते पान्थर लब्रेमा निर्माण गरिएको ‘सत्यधर्म मुचुल्का’मा विभिन्न बुँदा उल्लेख छन्। जसमध्ये मुन्धुमलाई लिपिबद्ध गर्ने उल्लेख गरिएको छ। महागुरुले मुन्धुमलाई किरात लिपिमा लिपिवद्ध गर्न लगाउनुभयो। वहाँ आफैमा ‘मुन्धुमसाबा’ हुनुहुन्थ्यो। महागुरुले मुन्धुम भन्नुहुन्थ्यो र वहाँका चेलाहरूले त्यसलाई लिपिवद्ध गर्नुभयो। त्यसपछि लिखित मुन्धुमको प्रयोगको थालनी भयो।
महागुरु फाल्गुनन्दले लिपिवद्ध गर्नुभएको मुन्धुमलाई सम्पादन र प्रकाशन गर्ने कार्य किरात धर्मगुरुले गर्दै आउनुभएको छ। वहाँकै पहलमा किरात लिपि छाप्ने प्रेसको स्थापना २०४० सालको दशकको शुरुमा भयो। त्यो प्रेस किरात लिपि छाप्ने विश्वको पहिलो प्रेस हो। ‘थेबा—युमा खमा मुन्धुम’, ‘चासोक मुन्धुम’, ‘सोमाङ केमाङ मुन्धुम’, ‘साक्मुरा वदेम्मा मुन्धुम’, ‘साप्पोक चोमेन मुन्धुम’, ‘मेखिम खमा मुन्धुम’, ‘कुसाङ सेमा मुन्धुम’, ‘साम्सामा मुन्धुम’ मुन्धुम कम्प्युटराइज गरेर प्रकाशन भएका छन्। लिपिवद्ध गरिएका मुन्धुमलाई सम्पादन र छपाइमा ल्याउने कार्य धर्मगुरुले गर्दै आउनुभएको छ।
प्रकाशित मुन्धुम नेपाल, भारत (सिक्किम, दार्जिलिङ, आसाम), हङकङ, सिङ्गापुर, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, जापान, कोरिया, अमेरिकालगायत मुलुकका किरात धर्मावलम्बीहरूले दैनिक जीवनमा प्रयोग गर्दै आएका छन्। माङसेबुङमा मुन्धुम पठनपाठन भइरहेको छ। अझ धेरै मुन्धुमहरू लिपिवद्ध हुन बाँकी छ। लिखित मुन्धुमको प्रयोगले मुन्धुमको एकरुपता र साक्षरता बृद्धिमा योगदान गरेको छ। कर्मसंस्कारमा एकरुपता ल्याउन मद्दत गरेको छ।
अन्त्यमा,
निरंकुश पञ्चायती व्यवस्था, माओवादी सशस्त्र युद्धजस्ता असहज राजनैतिक अवस्था, अभाव र कठिनाइसँग पौठेजोडी गर्दै अप्ठ्यारा पन्छाउँदै धर्मगुरुले किरात धर्मलाई नेतृत्व गर्दै आउनुभएको छ। किरात धर्मगुरुले ७१औं जन्मोत्सवको अवसरमा हार्दिक शुभकामना।