पौरखको पगरी: गुरुआमा

  आङबुहाङ अबोध अविरल  682 पटक हेरिएको

मुहिङगुम अङसीमामाङ साँबा पवित्राहाङमा ६६ वर्षमा प्रवेश गर्नुभएको छ । तर, खेती–पातीको वहाँको व्यस्तता कमी आएको छैन । बाह्रै महिना विहान ४ वजेदेखि साँझ ९ वजेसम्म वहाँको समय काममै बित्छ ।

असार साउनमा धान रोप्न होस् वा मंसिरमा धान थन्क्याउन, कामको चटारोमै देखिनुहुन्छ–गुरुआमा । गुरु आश्रमको खेतीमा अराउ–खटाउ गर्नेदेखि हलो–कोदालो गर्नु वहाँको दैनिकी रहेको छ । पाँचथर र इलामको सिमाना रहेको तिनचुको आलु खेतीदेखि रतुवा वेसीं, मेक्वा वेसीं र महमाईको धानखेतीसम्म गुरुआमाको हात गोडा पुगेकै हुन्छ । आश्रमको सयांै गाई–गोरु र पशु–पक्षीको हेरचार त छँदै छ ।

सामान्य नेपाली जनजीवन भन्दा व्यस्त छ–गुरुआमाको दैनिकी । आश्रममा उत्पादित अन्न, सागसब्जी र फलफूल गुरुआश्रममा स्वदेश–विदेशबाट आउने भक्तजन र अतिथिहरुलाई खुवाउन प्रयोग हुन्छ । किरात धर्मगुरुलाई धार्मिक कामकाजमा सहयोग गर्दै कृषिमा वहाँको पौरख अनुकरणीय छ ।

श्रमको सम्मान

गुरुआमा आफै हलो जोत्नुहुन्छ । खन्नु हुन्छ । गोठमा गोबर सोर्नु हुन्छ । घाँस काट्नुहुन्छ । बसेर अह्राउने मात्र गर्नुहुन्न । वहाँको यस्तो कार्यले शारीरिक श्रमप्रतिको इज्यत दर्शाउछ । भनिन्छ, काम नगरी त्यसको महत्व बुझ्न सकिन्न । इज्यत गर्न सकिन्न । श्रम इज्यत हो, सम्पत्ति हो ।

पछिल्लो समय औद्योगिकरण र प्रविधिको विकासले मानिसहरुलाई कृषि पेशाबाट विकर्षण गर्दै लगेको छ । मानिसमा कम श्रम गर्नु पर्ने सहज पेशातर्फ आकर्षण बढेको छ । सुकिला–मुकिला सहरी जीवनको खोजीमा हामी भौतारिहेका छौं । मानव जीवनको आधारशिलाको रुपमा रहेको कृषि पेशालाई हेयको दृष्टिले हेर्ने चलन बढेको छ ।

हाम्रा नानीहरुलाई विद्यालमा धुलोमा खेल्नु हुँदैन र हिलो छुनु हुँदैन भन्ने सिकाइरहेको छौं । धुलोसँग नखेली, हिलोमा लतनपती धान, मकै र साग सब्जी फल्दैन । हलो–कोदालो र खेती–पाती नपढ्ने र तल्लो वर्गका मानिसले गर्ने काम हो भन्ने धारणा समाजमा छ । साग, सिस्नु गरिबको खाने कुरा हो भनिन्छ । यसले नानीहरुमा कृषिप्रति वितिष्णा जगाउछ । तर, गुरुआमाको शिक्षा श्रमलाई सम्मान गर्नुपर्छ भन्ने बुझिन्छ ।

पछिल्लो समय सामाजिक सञ्जालको लत (डिजिटल एडिक्सन) बालबच्चा सम्ममा बसेको छ । यसले पढाई, लेखाइ र खेतीपातीका काममा मानिसको एकाग्रता र धैर्यतामा कमी आएको छ । सामाजिक सञ्जालमा लाइक, सेयर र कमेन्ट गन्न र गर्नमा समय बितिरहेको छ । २२ लाख युवा जनशक्ति विदेशमा सस्तोमा श्रम बेच्न बाध्य छन् । नेपालका पहाडी र हिमाली क्षेत्रमा बस्ती घटिरहेको छ । जमिन बाँझिँदै गएको छ । कृषिजन्य वस्तुको उत्पादन घटिरहेको छ ।

२०७८ को जनगणनाको प्ररम्भिक नतिजाले ६२ प्रतिशत मानिस सहरमा बसोबास गरिरहेको देखाएको छ । ४० वर्ष पहिले करिब १० प्रतिशत मानिस सहरमा बस्थे । सहर बढ्नुको अर्थ कृषि कर्म घट्दै जानु हो । शारीरिक श्रमको समय डिजिटल प्ल्याटफममा व्यतित गरिरहेका छौं । यस्तोमा गुरुआमाबाट हामीले सिक्ने भनेको श्रमको सम्मान हो ।

परम्परागत सीपको हस्तान्तरण

गुरु आश्रममा काम गर्न माङसेबुङ र छिमेकी जिल्लाहरुबाट भक्तजनहरु सयौं आउने गर्दछन् । गुरुआमासँग काम गर्दा वहाँले परम्परागत खेती–पाती बारे सिकाउनुहुुन्छ । खनजोत गर्ने, बालीनाली लगाउने र थन्क्याउने तौर तरिकाबारे वहाँबाट सिक्न सकिन्छ । यो आफैमा परम्परागत मुन्धुमी कृषि ज्ञानको हस्तान्तरण हो ।

किरात समुदायमा आफ्नै प्रकारको परम्परागत मुन्धुमी कृषि प्रणाली रहेको छ । सयौं पुस्ताका पुर्खाहरुले हजारौं वर्षसम्म गरेको श्रम र अनुभवबाट हाम्रा परम्परागत मुन्धुमी कृषि प्रणाली विकसित भएको छ । खेती लगाउनु पूर्व, खेती लगाउँदा र बाली थन्काउदाका आफ्नै तौर तरिका छन् । यसैबीच थुप्रै कृषिसँग सम्बन्धित मुन्धुमी अनुष्ठानहरु विकसित भएका छन् । अझ भन्ने हो भने किरात धार्मिक अनुष्ठानहरु कृषिमा आधारित छन् ।

बाली लगाउनु पूर्व बीउ–विजनको याक्वा सेवा गर्ने प्रचलन किरात समुदायमा रहेको छ । बाली पाकेपछि प्रकृति र माङलाई आभार व्यक्त गर्न चासोका सेवा गर्ने अनुष्ठान प्रचलनमा छ । उधौंली, उभौली, कक्फेक्वा र सिसेक्पा जस्ता चाडहरु कृषिसँग सम्बन्धित छन् । तसर्थ, मुन्धुमी जीवन यापनका निम्ति कृषि अपरिहार्य छ । त्यसकारण पनि गुरुआमाले परम्परागत अर्गेनिक कृषिमा जोड दिइरहुन भएको छ ।

गुरुआमासँग काम गर्न जाने भक्तजनहरुले गुरुआमाबाट मेलोमा थुप्रै धार्मिक ज्ञान र अनुभवहरु प्राप्त गर्दछन् । खेतीपातीकै क्रममा पालाम, ख्याली र हाक्पारे गाउनुहुन्छ । गाउँघरका पुराना कुराहरु सुनाउनु गर्नुहुन्छ । जसले भक्तजनहरुमा मेलो शिक्षा प्राप्त गर्दछन् । आश्रमको खेतीपातीले परम्परागत ज्ञान, सीप, अनुभव र गायनको हस्तान्तरणमा सहयोग गरिरहेको छ ।

अन्त्यमा, नेपालमा श्रमलाई वर्ग, सामाजिक र आर्थिक हैसियतका आधारमा वर्गिकरण गर्ने गरिन्छ । एक व्यक्तिले गर्ने कामको आधारमा उसको सामाजिक, आर्थिक र राजनैतिक हैसियत छुट्याइन्छ । वास्तवमा काम गर्दा काही सानो हुँदैन । श्रमले मानिसलाई महान् बनाउछ । पाखुराको पौरखले जीवन बचाउँछ । गुरुआमाबाट हामी यही कुरा सिक्ने कि ।

माङसेबुङ इलाम, कुसङ पाङभे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार