१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

खानपिनमा सुधार भएपछि शरिर पवित्र हुन्छ – किरात धर्मगुरु लिङ्देन आत्मानन्द



माङगेन्ना सेवा हामी सबैको माङगेन्ना चोत्लुङ भएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भयो ।

अङसीमाङले भन्नु भयो, ‘यो माङगेन्ना भनेको नाम मेरो भएपनि संसारमा छरिएर बसेका मानव जातिको माङगेन्ना चोत्लुङ उठाउने सेवा हो ।’ गत मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ६९ औं शुभजन्मोत्सव समारोहमा आशीर्वचन दिनु हुँदै वहाँले सो कुरा बताउनु भएको हो ।

समाजमा रहेको कुरीति कुसंस्कारलाई त्याग्दै जानु पर्ने बताउनु हुँदै, वहाँले भन्नु भयो, ‘खानपिनमा सुधार भएपछि शरिरलाई पवित्र हुन्छ ।’ विश्व शान्ति, मानव एकता र सक्कल प्राणी रक्षार्थ सम्पूर्ण मानव जगत एक भएर लाग्नुपर्ने भन्नु हुँदै सबैजना एकता बने मुलुकको विकास हुने वहाँले बताउनु भयो ।

 

भौतिक सुख सुविधामा मात्र नभई अध्यात्मिक क्षेत्रमा पनि अगाडि बढ्न आवश्यक रहेको चर्चा गर्नुहुँदै अङसीमाङले भन्नु भयो, ‘यो लोकमा जन्म लिएपछि केही काम गर्नु पर्छ ।’ वहाँले थप्नु भयो, ‘सत्यतामा आशीर्वाद अडिएको हुन्छ, आशीर्वादलाई सही सदुपयोग गर्नुपर्छ ।’

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहको अवसरमा माङसेबुङमा मंसिर १८ र १९ गते आशीर्वचन दिनुहुँदै मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले पञ्च तत्वको गति विग्रिन्दै गएकोले अहिलेको युगमा विश्व शान्ति तथा मानव एकताको लागि सबैले पहल गर्नुपर्ने बताउनु भयो ।

‘जनघनत्व बढेपछि पृथ्वीले रुपरेखा फेर्छ, यसरी संसारमा नरसंहार हुन सक्छ’ अङसीमाङले भन्नु भयो, ‘पञ्च तत्वको गति विग्रेपछि संसारमा अनेकौं किसिमको महामारी, रोग व्याधि, युद्ध, अशान्ति फैलिन्छ, यसबाट बच्न सचेत हुनुपर्छ ।’ पछिल्लो समयमा किरात धर्मावलम्बीको संख्या अत्याधिक बढ्दोक्रममा रहेको सुनाउनु हुँदै यसमा किरात धार्मिक संघ संस्थाले विशेष ध्यान दिन आवश्यक रहेको कुरा प्रष्ट पार्नु भएको थियो । वहाँले भन्नु भयो, ‘संसारको सबै मुलुकमा किरात धर्म पुगेको छ ।’

 

 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ८ : २८ बजे