६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

विश्व शान्ति मानव एकता



ओत् तागेरा निङ्वाभू माङे सेवारो !

आज यस चिल्लागढ धाममा हामी सबै भक्तजनहरु भेला भएका छौं । महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा यस थलोमा व्यापक रुपमा स्वदेश तथा विदेशबाट सबै भक्तजनहरु जम्मा भएका छौं । हामीले महागुरुको जन्मजयन्ती वर्षेनी मान्ने गरेका छौं । हामी पोहोरको साल यतिबेला ताप्लेजुङमा थियौं ।

अहिले हामी झापाको चिल्लागढमा आएका छौं । यो चिल्लागढ भनेको बडा ऐतिहासिक थलो हो । यो मैनाचुली सतासी गंगाको देवताहरुले पनि अंगालो मारेर बसेको ठाउँ हो । उत्तरपट्टी चुलीहरु हाँसेर बसेको ठाउँ र पाँच हजार वर्ष अघि यहाँ पाँच पाण्डवहरु बनबास हुदाँ यहीँनिर धुनीकुण्ड खनेर होमादी गरेको ठाउँ हो । मैले देख्दा यहाँ माथिल्लोपट्टी माटोको रेखि लगाएको थियो । यो डाँडा चाहिँ त्यति बेलाको समयमा पाँच पाण्डवहरुले यो डाँडा उठाएको हो । उठाएर कुण्ड बनाएको हो । यहाँ गुप्तबास बसेको थलो हो । हामी पनि आएर अब किरातहरुले पनि माङहिम स्थापना गर्यौं । शालिक स्थापना गर्यौ । हिन्दु धर्मले पनि मन्दिर स्थापना गरेको छ । हाम्रो धार्मिक सहिष्णुताका आधारमा नेपालमा सबै धर्महरु बाँचिराखेको छन् । त्यसैले गर्दा मलाई लाग्छ, यो आजको पचास वर्ष अघि पुरै जंगल थियो । यहाँ बाघ, भालु थियो । हात्ति, गैंडा थियो । अहिले मान्छेको बजार भइराखेको छ ।

हामी पहाडबाट झ¥यौं । पश्चिमबाट आयौं, पूर्वबाट आयौं । यहाँ जम्मा भएर हामी (मधेश) मैदानमा बसोबास गरेका छौं । म मानव समाजलाई के भन्न चाहन्छु भने, हामीमा सबैभन्दा पनि विश्व शान्ति मानव एकताको आवश्यकता छ । महागुरुले प्रचार गर्नुभएको अहिंसा दर्शनमा हामी सबै उनिएका छौं । यसैमा हामी अगाडि बढेका छौं । हाम्रो युगमा, हाम्रो समयमा मैले भविष्यवाणीमा पनि दिइसकेको छु । तपाईंहरुले अहिलेको युगमा कस्तो आयो भन्नुहुन्छ भने, मान्छे साह्रै बाठो, मान्छे असाध्यै बाठो तर मान्छेले अरु मान्छे नचिन्ने समय आएको छ । त्यसले गर्दा हाम्रो औषधि, हाम्रो मन्त्र भनेको विश्व शान्ति तथा मानव एकता हो । मानव–मावनमा सद्भाव हुनुपर्छ । सद् विचार रहनुपर्छ । मान्छेले मान्छे भईकन सत्य विचार लिई अगाडि बढ्नपर्छ । जबकी यो पृथ्वीको पनि आयु बढ्छ । मान्छेको पनि आयु बढ्छ । हामी–हामी नै बाँझेर दुनियाँ लाक्पा परेर हामी मारामार गर्यौं भने, संसारमा ईश्वरको सृष्टि बन्द भएर जान्छ ।

त्यसो भएको हुनाले तपाईंहरुले सुन्नुहोस् । पृथ्वीमा यस धरातलमा, यस लोकमा मान्छेहरु, पुरुषहरु, ज्ञानीमुनीहरु, ध्यानीहरु यहाँ जन्मिन्छन् । नेपालमा आजको एक सय ३९ वर्ष अघि हाम्रै बंशमा महागुरु फाल्गुनन्द जन्मिनु भयो । र, हाम्रो समाजमा के भन्नुभयो भने, नानी हो तिमीहरुले हत्या, हिंसा गर्नु हुँदैन । तिमीहरुले छोरीचेलीको सोतरित खान हुँदैन । तिमीहरुले देवताको नाममा भोग, हत्या गर्नु हुँदैन भनेर वहाँले बोल्नुभयो । वहाँले त्यो प्रचार गर्नुभयो । समाज सुधारका लागि अहोरात्र लाग्नु भयो । समाज सुधार भनेको भित्र हाम्रो आत्माबाट सुधार भएर आउँनु पर्ने कुरा हो । तपाईंहरुले भरसक सक्नुभयो भने, मासु पनि नखानु भन्नु भएको छ । तर अहिले तपाईंहरुले सुन्नुहोस् अहिलेको युग वैज्ञानिक जमाना हो । यसलाई आधुनिक युग पनि भनिन्छ । अहिले मासु धेरै खाइयो भने त्यसले मातेर पनि मान्छे मरिन्छ ।

दोकानमा गएर बडा–बडा, दामी–दामी रमहरु छ महिना मात्रै नियमित खाइयो भने, त्यो मान्छे माथिल्लो गाउँमा गइहाल्छ । हामी हिड्दा–हिड्दै भ्वाक्कै लडेर मरिहाल्छौं । त्यसकारणले हामी के भन्छौं त भन्दा त्यसको औषधि सबै कुरा चाहिँ अलि बुझेर अलि विवेक पु¥याएर खाऊँ भन्छौं हामी चाहिँ । खान त खानकै लागि जन्मेका हौंं । लाउनकै लागि जन्मेका हौं । रमाइलो गर्नकै लागि पृथ्वीमा जन्मेका हौं । तर, पहिचान र विवेक पु¥याएर खाउँ भन्छौं । म त के भन्छु भने, तपाईंरु नरिसाउनु होला, हाम्रो सबैभन्दा पनि लिम्बुवान याक्थुङ पाङभेमा त के चलन छ भन्दा विहे हुँदा पनि जाँड खायो, रक्सी खायो अनि आनन्द बस्ने त होइन लाक्पा पथ्र्यो । काटाकाट हुन्थ्यो । उ चिठी लेखा लेख गरेर दुनियाँ भर झगडा खेल्थ्र्यो । यस्तो खालको हाम्रो समाज अहिले विसको उन्नाइस भएको छ । अहिले होइन यो गर्न नहुने रहेछ भन्ने चेतना विकसित भएर आएको छ । यो महागुरुको शक्तिवाणी हो । यो महागुरुको देन हो । यो सभ्यता अरु समाजले पनि सिक्न लागेको छ । अरु समाजलाई पनि उपयुक्त भएको छ । यसले गर्दा किरात धर्मको उद्देश्य र यसको दर्शन भनेको विश्व शान्ति मानव एकता हो ।

त्यसमा महागुरुको ज्ञान छ । महागुरुको दिव्य ज्ञानहरु लुकेको छ । त्यसलाई हामीले प्रयोग गर्न जान्नुपर्छ । तपाईंहरुलाई म एउटा कुरा भन्छु हैं, मान्छेहरु अहिले मंगल ग्रहमा पुग्दैछ । रोवर्ट बनायो हाम्रो मान्छेको प्रतिबिम्ब बनाएर मंंगलमा पुगिराखेको छ । यो कसले बनायो त ? कुन बंशले बनायो ? अहिले जो युद्ध हुँदैछ इजरायलमा यहुदीहरुको समयमा यहुहरुको कुलमा त्यहाँ हरेक विद्धानहरु जन्मिए । त्यो कूलमा भेगन पनि छ । आमा बाबुको दूध नखाने, मासु नखाने । हामी चाहीँ अर्ध भेगन हौं । हामी दुध, घिउ, मोही त खान्छौं । उनीहरु त दुध, मोहि पनि खाँदैनन् पूर्ण भेगन छन् । उनीहरुले विश्वलाई चकित बनाएको छ । अनेक नयाँ–नयाँ कुराहरु पत्ता लगाउने, अप्रेसनदेखि लगेर अनेक यान, यन्त्रहरु बनाउने विद्धानहरु त्यहाँ जन्मिछ ।

अहिले लडाइँ भइराखेको इजरायलमा यहु कुल छन् । त्यसमा विभिन्न नेताहरु जन्मेका छन् । दार्शनिकहरु जन्मेका छन् । कार्लमास्क जस्ता पनि त्यहीँ जन्मे । मान्छे संसारमा धेरै मार्ने मान्छे पनि त्यहीँ जन्मेका छन् । मान्छे सबैभन्दा धेरै मार्ने हिटलर पनि त्यहीँ जन्मेको हो । यो अहिले संसारमा कम्युनिजम शासनको व्याख्या भइराखेको छ, त्यो लेख्ने मान्छे पनि त्यहीँ जन्मेको हो । विश्वमा विनासकारी बम बनाउनेहरु पनि त्यहीँ जन्मेका छन् ।

समाज सुध्रियो भने र सुधार भएर गयो भने यस्तो विकसित भएर जान्छ । म के भन्छु भने, तपाईं हामीहरु पनि सुधार्ने र सुध्रिने मौका पाएका छौं । सुध्रियौं भने हामी पनि त्यो ठाउँमा पुग्छौं । भोलि नेपाली जनताले पनि एउटा यन्त्र बनाएर मंगल ग्रहमा, चन्द्रमामा पु¥यायो हो, अनुसन्धान गर्दैछ भन्ने त होस न हाम्रा पनि नाम । त्यसैको लागि पनि हामीले धर्म कर्म गर्नुपर्छ । हाम्रो छोराछोरीहरु हाम्रो नाता सन्तानहरु पवित्र भएर जन्मियोस् । ज्ञान बुद्धिले युक्त भएर जन्मियोस् । राज नेता जन्मियोस्, देवनेता जन्मियोस् सबैखाले नेताहरु ज्ञानीमुनी जन्मियो भने, हामी सबै विकासमा अगाडि बढ्न सक्छौं । हेर्नुहोस्, अहिले यहुदी कुलमा त्यस्तो छ । मलाई अचम्म लाग्छ धेरै मान्छे मार्ने हिटलर पनि त्यहीँ जन्मियो । संसारमा धेरै मान्छे मार्ने को हो भन्दा हिटलरनै हो । उनले त्यहीँ यहुदीहरुलाई सबै कालो कोठामा लाउँदै माथ्र्र्यो । अर्को कार्लमाक्स कहाँ जन्म्यो भन्दा त्यहीँ जन्म्यो । कार्लमास्कले लेखेको दर्शन कम्युनष्टि हुँ भन्नेहरु अहिले चाइनामा, रसियामा, उत्तर कोरियामा सबै ठाउँमा चलाई राखेका छन् । त्यसले गर्दा अब हाम्रो दर्शन कस्तो हुनुपर्ने हो त ? हाम्रो समाजलाई कसरी अगाडि बढाउनुपर्ने ? यो पनि त सोच्नु पर्यो नी । हामीले यो पनि सम्झिनु पर्यो । हाम्रो समाज कसरी सुधार हुने हो ?

हाम्रो जाँड र रक्सीमा जहिलेसुकै बाझी बस्यौं भने त हाम्रो सुधार हुँदैन । त्यो पनि नखानु भन्ने कुरा होइनन् । सुत्ने बेलामा, आराम गर्ने बेलामा, टाइममा खाने, टाइममा बस्ने । जथाभाबी खाएर बाटो रोकेर, बाटो रिर्जभ गरेर हिड्ने होइन । बाटो रिजर्भ गरेर हिड्यो भने के भनिन्छ ? छ्या हौं हेन मनाङग बा?अगदम्बा हो भन्दै हिड्छौं । हामी नै त्यसो भन्दै हिड्छौं । अनि केहीँ नदेखि बाटोमा लम्पसार परेर सुत्यो भने मान्छेहरुले थुकि पनि राख्छन् । अलि सभ्य बनौं है भन्ने चाहिं महागुरुको भनाई हो । मेरो पनि भनाई यहीँ हो । हामी सुध्रियौं भने, मान्छे जस्तो भइन्छ । संसारले गन्छ, संसारले देख्छ । सबै जान्ने बुझ्ने हो भनेर संसारले एउटा अङ्क थपिराख्दछ । त्यसले गर्दा तपाईंहरुलाई यहीँ सजेशन दिन म चाहन्छु । म यो ठाउँमा पहिला पनि आएको हो । यो जंगल हुँदा पनि म आएको थिए । यो उहिले पाँच हजार वर्ष पहिला महाभारत युद्ध हुनुभन्दा पहिला चाहिं यहाँ पाण्डवहरु गोपनिया बस्दाखेरि यो ठाउँमा बसेको थलो हो ।

यो किचापथ यसरी गएको छ, यता पाण्डव भन्ने यहाँ माथि छ । यो ठाउँ त उहिलेका ऋषिमुनीहरु पनि घुमेको ठाउँ हो । यसलाई मैनाचुली भन्छन् । सताक्षी गंगा पनि भनिन्छ । देवी देवता बसेको ठाउँ । त्यसले गर्दा यसलाई शोभा दिएर बसेको अहिले नाम पनि पो राम्रो लाएको छ यो त शिवसताक्षी भनेको छ । शिवजीको नाम काढेको छ क्या । शिव महादेवको छत्रछाँया परेको थलो हो । यसमा हामीले पवित्र मानेर बसौं । म यहीँ कुरा अनुरोध गर्न चाहन्छु ।

पवित्र जीवन माङहाङ सबैले मन पराउँछ

एउटा कुरा के भन्छु भने, अहिले सामाजिक व्यवहारमा हाम्रो छोराछोरीहरु, हाम्रो नानीहरु, हामीले पढाएर बि.ए, एम. ए., डिग्री गराउनु पर्नेमा अहिले चाहिं बिना लाइसेन्सका डाक्टर भइराखेका छन् । यसबाट पनि तपाईं हामी जोगिनु पर्छ की भन्छु । अब हाम्रो बच्चाहरु कोही त कूलतमा फँसिराखेका छन् । यस्तो व्यवहारबाट अलिकति हामीले सचेत गराउनुपर्छ । हामीले धन सम्पति, पैसा, रुपैयाँ हरेक कुरा नाम दाम सबै कमाउनु पर्ने थलोमा अब, हामी इन्जेक्सन लाएर दिन भरी लठ्ठ भएर बस्यौंं भने त्यो त हुँदैन । त्यो त त्यतिकै नाश हुन्छ । हामी जन्मेको पनि व्यर्थै हुन्छ । त्यसले गर्दा तपाईंहरुले तिनीहरुलाई पनि अलि सम्झाएर बुझाएर हामी सबै लागेर सचेत बनाऔं, मान्छे जस्तो बनाऊँ । चेतनशिल बनाऊँ, ज्ञानको बाटोमा अगाडि बढाऊँ । यहीँ कुरा हामी भन्छौं । र, आज म यो थलोमा आइपुग्दा धेरै विकसित भएको ठह¥याएको छु ।

पहिला आउँदा यहाँ महारानीहरु धेरै बस्थ्यो । हाम्रो इभाङकाहरु बस्थ्यो है यहाँनेर । महारानीहरु धेरै बस्थे अनि म हेरिरहन्थे । अहिले धेरै विकास भएको रहेछ । हाम्रो धर्मले पनि विकास गरेको छ । अघि हाम्रो इभाङको बुढी आमाले भन्नुहुथ्यो यहाँ चारधाम बनाउनुपर्छ । हो, हुन्छ बनाउनु पर्छ । यहाँ पर्यटकीय क्षेत्र बनाउने । यहाँ लाखौं भक्तजनहरु आउने जाने ठाउँ बनाउँदा यो गाउँपालिकाको पनि विकास हुने हो । मैले त्यहीँ भनिराखेको छु ।

यसमा तपाईं हामी सबैले ध्यान दियौं भने हुन्छ । सबैले पवित्र मान्यौ भने हुन्छ । त्यसले गर्दा म तपाईंहरुलाई त्यो भन्छु । म त तपाईंहरुलाई खानपिन सम्बन्धि पनि धेरै सम्झाउँने इच्छा छ । किनभने, हामी सिगरेट तान्छौं हामीले आन्द्रा बिगार्छौं । रक्सी खान्छौं हाम्रो किट्नी बिगारी पठाउँछौं । अनि डाक्टरलाई देखाउनै पर्यौ, चिर्नुपर्छ भन्छ यति दबै दिन्छ, दबै खानुपर्यो । डाक्टरको दबै बिक्नेनै भयो ।
त्यसले गर्दा हाम्रो शरीरलाई बेलैमा चोखो नितो राखौं, त्यो रोग आउन नदिऊँ, त्यो रोग चाहिँ हाम्रो पेटमा पस्न नदिउ यहीँ मेरो बिन्ति छ । हाम्रो यो जीवन भनेको, हाम्रो जिन्दगी भनेको यो रमाइलो जिन्दगी हो । लरतर यस्तो जन्म त पाएर आउँदैनौं पो है मान्छे त ।

हामीले आत्मा पवित्र ग¥यौं भने, हामी रोगबाट टाढा रहन्छौं । रोग व्याधबाट टाढा रहन्छौं । हामी पवित्र बन्छौं । पवित्र बने पछि माङहाङ सबैले मन पराउँछ । सबै ठाउँमा हामी अगाडि बढ्न सक्छौं । हामी विवेकशील बन्न सक्छौं । यहीँ कुरा म तपाईंहरुसँग हार्दिक अनुरोध गर्न चाहन्छु । अहिलेको बिमार के छ ? माइनग्रेन । यसले दिमाग बिग्रियो । के ले बिग्रियो ? खानपिनले बिग्रियो । अहिले डाक्टरले पनि तिमीले रक्सी नखानु भन्छ । उता रक्सी खाऊ भनेर हरहर भइराखेको हुन्छ । तर, रक्सी नखानु भनिदिन्छ । तपाईंले रक्सी नखानु भनि दिन्छ । तपाईंले त्यो गुलियो चिजहरु पनि कमि मात्रै खानु भनिदिन्छ । हामी के भन्छौं ? हामी विवेक पु¥याएर खाऊँ भन्छौं । खानपिनमा विवेक पु¥याएर ठीक पच्ने गरी मात्र खाउँ । अब मासु नखाई नसक्नेले पनि बेलुका ठीक पच्ने गरि खाने । धेरै खाइयो भने हाई प्रेसर भइहाल्छ । हाई प्रसर माथि पुगेपछि ड्याङ्गै ढल्यो, मरिगयो कामै छैन् ।

त्यसले गर्दा हाम्रो आयु कम हामीले आफैं बनाएका छौं । यो आयू लामो बनाउनको निमित्त तपाईं हामीले पनि सोचौं । एक दुई वर्ष बाँच्ने उपाय सबैले सम्झौंन । एक दुई वर्ष रमाइलो गर्ने कुराहरु सोचौं । यो कुरा म तपाईंहरुलाई साह्रै अनुरोध गरेको छु । त्यसले गर्दा तपाईंहरुले चुरोट, खैनी, रक्सी भरसक नलिनु होला । तपाईंहरुले लिएता पनि बेलुकी मात्र ग्रहण गर्नुहोला । बेलुकी कम खाएर आराम गर्ने । हामी खान जान्दैनौं । मेरो पहिलाको सचिव चन्द्रकुमार सेर्मा हो, यसले जाँडको गडी कहिल्यै नछोड्ने । गडी भेटाएपछि त जाउँ न हो काम छ भन्दा पनि बसिरहने हो ।

जाँड नछोडेको भए चन्द्रकुमार उहिल्यै मट्टी हुन्थ्यो । अनि एउटा मधिसे छ । त्यसले पनि मेरो कुरा नसुनेको भए उहिले मरेर मट्टी हुन्थ्यो । त्यसकारणले सबै कुरामा अलिकति जीवनलाई पवित्र बनाउको निमित्त हामीले ध्यान दिउँ । म यो कुरा तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु । हाम्रो महागुरु फाल्गुनन्दको निर्देशनमा के छ त ? हिंसा नगर्नु, जीव हत्या पनि नगर्नु । तिमीहरु स्वच्छ बन्नु भन्ने दर्शन छ । हामीले त्यहीँ दर्शन बोकेका छौं । यो दर्शनलाई जोसुकैले यसको पालना गर्न सक्छ । यो ज्ञान पालना गर्नु हाम्रो कर्तव्य हो ।

अब, हामीले अहिले यो माङहिम, मठ मन्दिरहरु बन्दैछ । यो राम्रो चिज हो । हामीलाई एउटा आत्मा मुक्ति पनि त चाहियो नी । आत्मालाई जहिले तहिले भूत भएर हिड्नु त भएन नी । आत्मालाई मुक्ति दिने ठाउँ, आत्मा परागत हुने थलो पनि हामीलाई चाहिन्छ । त्यसले गर्दा किरात धर्म अगाडि बढेको छ । हाम्रो देन जो तपाईंहरुले थाहा पाउनु भएको छ । सपना विपनामा कसैले सपना देख्नुभएको छ । कहिले विपनामा देख्नु भएको छ । तपाईंको विचार आएको छ । तपाईंहरुलाई यति भन्दै आज म धेरै लामो बोल्नुपर्ने कुरा त थियो । तर समय गइसकेको हुनाले अर्को कार्यक्रममा पनि च्यास्सै निस्किराख्नुपर्ने छ ।

हाम्रो मन्त्री ज्यू आउनुभयो मलाई साह्रै खुशी लाग्यो । उहाँहरु भनेको हामी पहाडबाट के भन्छौं भने, खासगरी मधेश त मैदानलाई भनिन्छ । तर, मधेशमा बस्नेलाई हामी मधिसे भन्छौं । माथि पहाडमा बस्नेले मधेशमा बस्नेलाई मधेशे भन्ने चलन रहेको छ । उहाँले जुन बचन बोल्नुभयो एकदम ज्ञानको कुरा गर्नुभयो । इश्वरको बारे, ईश्वरसँग कसरी भेट्ने ? कुन ज्ञान मन्त्रले भेट्ने ? भन्ने कुरा चाहिँ अहिले प्रष्ट बोल्नु भएको छ ।

यो पनि एउटा ठूलो ज्ञान हो । र, उहाँ बन मन्त्री भएको छ । उहाँको पनि अफिस हतार छ । मेरो पनि हतार भयो । त्यसले गर्दा आज म यहाँहरु सबैलाई आशीर्वाद दिँदै, महागुरुको जन्मजयन्तीमा उपस्थित हुने सबैलाई आशीर्वाद दिँदै, मन्त्रीज्यूहरुलाई आशीर्वाद दिँदै, म यहाँबाट विदा लिन चाहें, तपाईंहरुसँग बिदा हुँदैछु । अब फेरि भेटौला । फेरि–फेरि समय मिलाएर भटौला । तर हाम्रो समय त आज भन्यो, भोलि भन्यो त्यतिकै–त्यतिकै गइहाल्दो रहेछ । त्यतिकै–त्यतिकै भोलि माथिबाट निम्तो आयो भने, माथि पनि गइहाल्नुपर्छ त्यस्तो स्थितीहरु छ ।

त्यसले गर्दा हामी छिटो–छिटो भेला हुने, छिटो–छिटो हाम्रो धर्मको कुरा गर्ने, भाषा साहित्यको कुरा गर्ने, संस्कृतिको कुरा गर्ने, यहाँ हामी लोप भएका कति वटा छौं । लोप भएकाहरु सबै उत्थान गर्ने महागुरुको सिद्धान्त यहीँ छ । तपाईंहरु सबैले सुन्नुभएको छ । अब, बुझ्दै लानु हुनेछ । सुन्दै लानु हुनेछ । जान्दै लानु हुनेछ । तपाईंहरुले दिन प्रतिदिन सत्य सम्झिनु भयो भने, तपाईंहरुले चिताएको काम पनि पूर्णता हुनेछ । यहीँ कुरा तपाईंहरुलाई आशीर्वाद दिन म चाहन्छु । आसेवारो ! धन्यवाद !

(वि.स. २०८० कार्तिक २५ गते झापाको चिल्लागढमा आयोजित किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १३९ औं जन्मजयन्ती कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।)

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ५ : १५ बजे