२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

धर्म बिना पार तरिन्दैन



प्यारा भक्तजन, चेलाहरु हो

हाम्रो धेरै कुरा सुधार भएको छैन् । हाम्रा मान्छेहरु धान नाचेर सबै समय बिताउँछन् । मेला बजारमा गएर तरुणी तन्नेरी धान नाच्छन् । चौबिसौं घण्टा तरुणी तन्नेरी धान नाचेर बजारबाट छुट्छन् । अर्को मेला बजारमा भेटघाट हुने सल्लाह गरेर अनि उनीहरु भेट नभइञ्जेल तरुणीले तन्नेरीको र तन्नेरीले तरुणीको सम्झना गरिरहन्छन् । आपसमा पालाम गाउन रचनामा समय बिताउँछन् । जसले गर्दा विद्यालय, क्याम्पसमा विद्या हासिल गर्ने समय त्यसैमा बित्छ । गहिरो प्रेम भनी बिहेवारी चलाउछन् र पछि फेरी लोग्नेले श्रीमतिलाई गाली गर्दैं कुट्ने पिट्ने चलन पाइन्छ । हुन त धान नाच हाम्रो संस्कृति पनि हो । अझ सुधार गर्दै लानु पर्नैमा विपरित तर्फ जाँदैछ । किनकि मेला बजारमा धान नाच्दा त्यसको फाईदा प्राप्त गर्नका बदला शरीर र खर्चको नाश हुन्छ । आफ्नो सस्कृतिको महत्व बढाउँदै लानुपर्छ । हाम्रो संस्कृतिको सभ्यता र महत्वलाई ध्यान दिई सुधार गर्न सक्यौंं भने हाम्रो अस्तित्व बन्छ, आर्थिक समस्या हल हुँदै जान्छ ।

हाम्रो समाज पापै पापले ढाकेको हुन्छ । त्यो हो रक्तपात गरी माङ्को सेवा गर्नु । रक्तपातद्धारा माङको सेवा, भक्ति गर्ने कर्म छोड्यौं भने हामी पापबाट मुक्ति हुनका साथै आर्थिक अवस्थामा सुधार ल्याउन सक्छौं । यस्ता कुरीति, कुर्कम त्याग्न सके हाम्रो बिर्काे लागेको ज्ञानको ढोका आफै खुल्दै जान्छ र हामी उज्यालो मार्गमा पुग्न सक्छौं । यसरी मात्र किरातहरुले आफ्नो मार्ग दर्शन पाउन सक्छन् । अरुबाट यस प्रकारको ज्ञान पाउन सक्दैनन् । अर्कालाई फटाहा भन्नु हुँदैन । अर्कालाई फटाहा भनियो भने भोलि अर्काे

फटाहा बन्न पुगिन्छ । हिंसात्मक कुराहरु गर्नु हुँदैन । हिंसा गरियो भने आफैलाई दोष लाग्छ । कसरी दोष लाग्छ भन्नु होला, अहिले म तपाईहरुलाई जुन कुराहरु बताउँछु । मेरो पछाडि गएर गुरुले त यस्तो नचाहिदो कुरा बोल्यो भनेर हिंसा, घृणा गर्नु भयो भने अदृश्य देवदण्ड तुरुन्तै लाग्छ । अरु समाजले तपाईहरुलाईनै फटाहा पनि बनाउँछ, किन भने सत्य ज्ञान तपाईहरुलाई दिँदैछु । सत्यको विरोध गरियो भने आफै नै एक्लो बन्न पुगिन्छ ।

हाम्रा समाजमा ठूला–ठूला विद्धानहरुलाई पनि कुकर्मले डो¥याएको पाईन्छ । जसले गर्दा उनीहरुलाई माङ्ले दोष दिएको पाइन्छ । जस्तै, प्रपन्नचर्यले हिन्दु वेद्मा विद्यावारीधि गर्नु भएको छ । तर वहाँले कुकर्मलाई अंगाल्नु भएको छ । जसले गर्दा उहाँलाई कुटेर खेदाए भन्ने पनि सुनें । किनकि परम्परागत हाम्रो समाजमा जनै भिर्ने चलन छैन् । यसको कुनै प्रमाण नै छैन् । तर, आज आएर किरातीहरुलाई जनै भिराएर किरात इतिहास, धर्म र अस्तित्व मेटाउन खोज्न ठीक होईन । हामीले कुनै हालतमा पनि आफ्नो धर्म छोड्नु हुँदैन ।

किरात धर्ममा दीक्षित भइसकेपछि कुनै हालतमा पनि आफ्नो बाटो छाडेनु हुँदैन । यो हाम्रो नजिकको बाटो हो । यहीँ नजिकको बाटोलाई नै पछ्याउनु पर्छ । टाढा टाढाको बाटो पछ्याउनु हुँदैन । यहाँ धेरै धर्महरु घुसेर हाम्रो मानिसहरुलाई डो¥याएको पाईन्छ । तर ती मार्गबाट भन्दा हाम्रो आफ्नो धर्मको हिजो हामी कहाँ थियौं, आज कहाँ पुग्यौं । यी कुराहरुको खोज गर्नुनै हाम्रो किरात धर्मको मुख्य उद्देश्य हो ।

विभिन्न कुरा अवगत हुनु, ज्ञान प्राप्त हुनुले नै हामीलाई सुमार्गमा डो¥याउँछ । यही ज्ञानलाई छोडेर अज्ञानता तिर जानु कुमार्ग या कुबाटोमा पुग्नु हो । यो ज्ञानलाई जब चिन्न सकिन्छ, तब विवेक प्राप्त गर्न सक्छौं । यी ज्ञान र विवेक आपसमा दाजूभाई हुन् । यिनीमा नङ् र मासुको सम्बन्ध छ । यिनीहरु आपसमा परिपूरक हुन् ।

अहिले कलि र सत्य चार इञ्चको फरकमा छ । कलिलाई हाम्रो आपसमा स्थान दिनु हुँदैन । यसलाई स्थान नदिनुको लागि हामीले त्रोध, घमण्ड र अंहकार गर्नु हुँदैन । किनकि यिनीहरु नै कलिका मित्र हुन् । जब यिनीहरुलाई स्थान दिन्छौं, तब हामी नष्ट हुनेछौं । हाम्रो आत्मामा कलिलाई स्थान नदिनुमा सत्य बस्नेछ । अनि मात्र सत्यको विजय हुन्छ । कलिका साथी पाइन्छ । त्यसैले सत्यको साथी हुँदैन । सत्य एक्लै बसेको हुन्छ । तर संसारमा सत्य नै विजयी हुन्छ । मानिसहरु भन्छन् । कलि आयो कलि लाग्यो । तर यसको सही अर्थ थाहा छैन् । मानिसमा कोध, घमण्ड र अंहकार आयो भने त्यो व्यक्तिलाई कलि आएको कलि लागेको भनेर जान्नुपर्छ । पहिले पनि मानिसहरुलाई कलिले दुःख दिएको थियो, र अहिले पनि दुःख दिइराखेकै छ । हाम्रो संघ–संस्था रेजिष्टे«शन भए पनि राम्रोसँग लान सकेको छैन, किन भने यहाँ हामीलाई पनि कलिले छोएको छ । कलिले राम्रो कुरालाई नराम्रो तिर अर्थ लगाउँछ, र नराम्रो कुरालाई राम्रो अर्थ लगाउँछ ।हामीले अति सहनशिल हुनुपर्ने दिन आएको छ । मादक पदार्थ सेवनलाई कम गर्दै लानुपर्छ । खाने कुराहरुमा भन्दा बढी सरसफाईमा ध्यान दिनुपर्छ । मेरो मान्छे खोज्नु प¥यो भने पहिले त गोसमा भेट्छ । छारीचेलीहरु जाँड, रक्सी भट्टीमा भेट्छ । मैले नखाउँ, नलाउ, नगरौं भन्न खोजेको होईनन् । इच्छा भएमा विवेक गरेर सफा सुग्घर बनाई खानुहोस् । अव्यवस्थित ढंगले पालेका सुँगुर, कुखुरा फोहोर मैलाहरु खान्छन् । सुँगुर कुखुराले मानिसको दिसा खान्छ भने मान्छेले त्यसैको मासु खाँदा आफ्नो दिशा आफैले खाएको जस्तो हुन्छ । त्यसैले सुँगुर, कुखुरा पाल्दा व्यवस्थित ढंगले पाल्नु पर्छ, जसले गर्दा फोहोर चिजहरु खानु नपरोस् ।

फेदाङ्मा देवारीहरु आफ्नो शरीरमा फोहोर बोकेर माङ्को सेवा गर्छन् । यस्तो फोहोर बोकेर माङ्को सेवा गर्दा माङ्ले हाम्रो सेवा लिँदैन । माङ्को सेवामा शरीरमा फोहोर बोकेर सेवा गरिन्छ भने त्यो असभ्य चलन हुन्छ । कति फोहोरपन हो त्यो । र यस्ता प्रकारका फोहोरपनहरु हाम्रा समाजमा धेरै छन् व्याख्या गरेर साध्य छैन् । हाम्रा मानिसहरुको केश फुलिसक्यो ता पनि अति अज्ञानी, असभ्य अशिक्षित भएको पाइन्छ । ‘‘केश छ सेतो, मन छ केटो’’ भने जस्तै हाम्रा अवस्था छ । उधौली, उभौली सेवा, युमा थेबाको सेवा मुहिङ्गुम अङसीमाङले दिनु भएको धर्मोपदेश अनुरुप गर्दैं जानु पर्छ । इतिहास मुन्धुमको खोजी गर्दै जानुपर्छ ।

हामी निधारमा खरानीको टिका लगाउँछौं । यो देखेर हाम्रा मित्रहरु जिस्काउँछन् । तर यसको अर्थ महत्वपूर्ण छ । हुन त साधुबिरालोले हाम्रो नाम विगार्दै छ, तर हामी रिसाउनु हुँदैन । कसैले एक लात दिए पनि सहनुपर्छ । म पनि हिेजो त्यसै मूर्ख थिए भनी सम्झनुपर्छ ।

एक दिन हामी जन्मन्छौं र एक दिन मर्छौं । यो क्रम चलिरहने प्रक्रिया हो । यो जगतमा ज्ञानी, सोच्ने सक्ने प्राणीमध्ये उत्तम प्राणीहरु हामी नै हौं । माङको सम्झना त्यो बेला मात्र गर्छौं । जुन बेला हामीलाई आपत्त पर्दछ । तर हामीले दिन रात माङको सम्झना गर्नु पर्छ । त्यसपछि मात्र हामी अरु काममा लाग्नु पर्छ । माङ् अदृश्य बस्तु हो । यसको खाजी गर्न धेरै ज्ञानी बन्नु पर्छ । हामी अति नै अशिक्षित छौं । हामीमा क्रोध, घमण्ड र अंहकार छ । यसले गर्दा दिनानुुदिन अज्ञानी, अशिक्षित भएर अँध्यारो बाटोतिर जाँदैछौं । यो अज्ञानताको मार्गलाई ज्ञानरुपी मन्त्रले हटाएर हाम्रो आत्मा ज्ञानको ज्योति बाल्नु पर्छ ।

सत्य लोप भए हाम्रो मूलभूत सम्पत्ति नै लोप भएर जान्छ । यो भन्दा अगाडि मुहिङगुम अङसीमाङ फाल्गुनन्द जन्मनु भएका कुरा सत्य छ । वहाँले हाम्रो सामु ज्ञानको बत्ती बाल्नु भएको छ । त्यसलाई हामी चिन्नुपर्छ । हामी विशेषतः पूजाआजा गराइमा बिग्रेका छौंं ।
जुनसुकै पूजा पनि बलि दिने, चढाउने चलन छ । जसले गर्दा पापको भोगी बन्दै जाँदैछौं । अर्काे तिर हाम्रो आर्थिक अबस्था झन् झन् विग्रदै जाँदैछ । हामी अति गरीब छौं । अक्षता, फूलको थुङ्गा धुपसहित स्वच्छ, पवित्र ढंगले माङको सेवा गर्नुपर्छ । बलि चढाउने चलनलाई हटाउदै जाऔं । यो कर्मलाई सुन्दर, फूलको थुङगाले सेवा गर्दैं जाने गर्नुपर्छ । हाम्रो पुर्खाहरु स्यालले मुतेको कान्ला त जान्छ नि भन्थे, त्यसको फलस्वरुप आज हामी सुकुम्बारी हुन पुगेका छौं । हामीले परम्परा अनुसार दान, दक्षिणा गर्नुपर्दा जमिन नबेची हुँदैन । त्यसैले कम खर्चले धेरै फाइदा हुनेतिर लाग्नु पर्छ । हाम्रो सामाजिक रीतिरिवाज परिवर्तन गर्दैं जानुपर्छ । परम्परागत रीतिरीवाज अनुसार माङको सेवा गर्दा हत्या गर्ने चलनले गर्दा आज हामीले अपराध भोग्न परेको छ ।

कुन चीज खाँदा फाइदा हुन्छ, कुन चीज खाँदा बेफाइदा हुन्छ, सो कुरामा विवेक राख्न सकेका छैनौं । हाम्रो स्मरण शक्ति, जुन माङ्को बासस्थान हो । हाम्रो मस्तिष्कमा असर पर्ने चीजहरु नि हामीले खाइराखेका छौं । त्यसैले सरसफाईमा ध्यान दिनुपर्छ । साथै आत्मा पवित्र बनाउने पर्छ । सारा प्राणी माङको सृष्टि हुन् । माङको सृष्टि नै हत्या गरी माङ्कै सेवा गरे परलोकमा त्यो अपराध वापत सजाय भोग्नु पर्छ । माङको कैदमा बस्नुपर्छ । माङको कैदको अर्थ नर्ककण्ड हो । त्यहीँ नै माङ दण्ड हो । राजाको कानून् हाम्रो आँखाले प्रत्यक्ष रुपमा देख्न सक्छ । तर माङको कानून् देख्न सकिन्दैन, थाहा हुँदैन । हामीले यस्तो देवदण्ड भोग्दै आए पनि अपराध कर्महरु गरी नै रहेका छौं । माङको नाममा आफ्नो पेटको समस्या हल गर्न चोरी रहेका छन् । त्यहीँ भाले समातेर बरदान माग्दै यूमालाई बलि चढाउँछन् ।

यसको असर मस्तिष्कमा पर्न जान्छ । हाम्रो मस्तिष्कको बास माङ्ले त्याग्छ । स्मरणशक्ति कमजोर हुँदै जान्छ । लेख, कवि विद्धानमा हुने रचना शक्तिहरु क्षीण हुँदै जान्छ । फोहोरी जातको जन्तुको मासु खाँदै नखानोस् भनेको होइन । खानुहोस तर व्यवस्थित ढंगले बनाएको खाने गर्नोस् ।

भक्तजनहरु हो, मैले फेदाङमाहरुको वारेमा भनिरहँदा दवाब दिएको जस्तो हुन सक्छ । तर मैले फेदाङमाहरुलाई दवाब गर्न खोजेको होईन, दर्शाउन खोजेको हुँ । फेरी अर्काे कुरा जहाँ फेदाङमाहरु धेरै हुन्छन् । त्यहाँ नै बढी बिरामी हुन्छन् । किन भने एउटा फेदाङ्माले अर्काे पूजा गरेको ठाउँमा अर्काे फेदाङ्मालाई पूजा गर्न दिदैन । यदि एउटा फेदाङमाले जजमान गरेको घरमा अर्काे फेदाङ्मालाई बोलाई पूजा आज गर्न लगाइयो भने आँखा डाह्री गर्छन् । आपसमा बाण हानाहान गर्न थाल्छन् । र एउटाले सेवा गरेको ठाउँमा अर्काेले बिगारी दिन्छ । त्यहाँ फेदाङमा ज्याँदा हुन्छन्, त्यहीँ नै बिरामीहरुको संख्या बढ्दै जान्छ । यो नराम्रो प्रवृत्ति हो ।

सत्यहाङमा परिवारको पूजारीहरुले पनि आफ्नो कर्तव्यलाई विर्र्सि अर्काे दिशातिर दौडेको थाहा पाएको छु । तर, त्यसरी विपरित दिशातिर दौडनु हुँदैन । त्यसको फल आफैले भोग्नुपर्छ । पूजारी वर्गले कम खर्चले ठूलो कार्य गर्नुपर्छ । यस प्रकारको कार्य गर्नु नै ठूलो धर्म हुने छ । कतिपय पूजारीहरु धेरै दक्षिणा माग्ने गर्छन् । तर त्यो कर्म हाम्रो धर्म होइनन् । श्रद्धाले चढाएमा लिनु पर्छ । नत्र मागेर लिनु उचित हुँदैन । एक जना मानिस सिकिस्त बिरामी हुँदा एक तोला सुन मागेको कुरा थाहा पाएको छु । यो गर्ने कार्य होइन, धर्म पनि होइन । कम खर्चबाट ठूलो उद्धार हुने कुरा गर्नुपर्छ ।

बाध्याताले गर्दा मैले माङ्गेन्ना कार्यक्रम राखेको छु, सम्पत्ति धेरै भएर होइन । तपाईहरु यहीँ कार्यक्रममा आएर तीर्थ ब्रत गर्नु हुनेछ । सञ्जन र मूर्ख हामी नै हौं । मूर्खता भनेको अँध्यारो मार्ग हो मूर्खताले गर्दा सजाय भोग्नुपर्छ । मूर्खता नाम कमाएका छौं । अब सञ्जन बिधिबाट पनि नाम कमाउन सिकौं । तपाईहरु विभिन्न विचारमा बगिरहनु भएको छ । जसरी हरेक राम्रा नराम्रा । तर मबाट एउटै ज्ञान पाउनु हुन्छ, अँध्यारोमा मात्र नहिंडी उज्यालो मार्गमा हिडौं ।

मलाई वाल्यवस्था देखि धेरै अभियोग नलागेको होइन, समाजद्रोही, देशद्रोही अभियोगहरुको सामना गर्दै आए, ती मात्र नभएर स्वयंम मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले राख्नु भएको पूजारी वर्गले समेत दुश्मन ठानी अपराधको रचना गरेको थिए । तर ती सबै कुराहरु शान्तिपूर्वक सामना गदैं आए, आफूमाथि जस्तो प्रकारको शत्रु ठानी शत्रु भइ लागे पनि रिसाउँनु हुँदैन ।

शान्त हुनुपर्छ । शान्त हुनु नै ठूलो धर्म हो । हामीले पाएको यो शरीर चीज अपार चीज हो । यो चीज हामीले माङ्बाट पाएका हौं । यो चीज सितीमिती पाउन सकिन्न । त्यसैले यस्तो अपार चीजलाई फोहोर मैला चीजबाट अलग राख्नुपर्छ । आत्मा सिद्धि तागेरा निङवाभूमाङ्को ज्योति प्राप्तको निम्ति मासु, मंस, मादक पदार्थ, धुम्रपान तथा अन्य फोहोर पदार्थ सेवनबाट अलग रहनु पर्छ । तब माङको दर्शन प्रत्यक्ष रुपमा पाउन सक्नु हुन्छ । सेवारो ।।

(वि.सं. २०४३ मंिसर १८ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ३३ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा अवसरमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनुभएको माङ आशीर्वचन) 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : १८ बजे