२ असार २०८१, शनिबार | Sat Jun 15 2024

महागुरु फाल्गुनन्दलाई बिर्सनु हुँदैन

किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ



यहाँ भेला हुनु भएका तमाम दाजुभाई, दिदीबहिनीहरु, यस्तो समूहमा बोल्न पाउँदा ज्यादै हर्ष लागिरहेको छ । आज हाम्रो स्वर्गीय महागुरु तपस्वी फल्गुनन्दज्यूको नाममा प्रदान गरिएको यो श्रद्धानञ्जली सभा सफल ग¥यौं । यसका साथै हामी तमाम् भक्तजन हामीले नाम्धुङ लाधुङसेमी सेवा गरेको, फल के हो भन्दा जस्तैः हाम्रो स्वर्गीय महागुरु झै अरु देशमा पनि महापुरुषको जन्मले गर्दा उनीहरुको धर्ममा देखिदैं आएको अन्धकार हट्दै गयो । पाप नास हुँदै गएपछि ज्ञानको पनि उदय हुँदै गएको छ ।

चार जात छत्तिस वर्ण मध्येमा एउटा हामी किरातमा आउन सक्छन् । लिम्बू, धिमाल, थारु, मेचे ,कोचे , गुरुङ् लामा आदि किरातमा आउन सक्छन् । हाम्रो जाति पनि पिछाडिएको समाज हो । त्यो हुनाले हामीले सौभाग्य मान्नुपर्छ स्वर्गीय महागरु फाल्गुनन्दले जन्म लिएर हाम्रो ठाउँ–ठाउँ, गाउँ–गाउँ घुमी महान् उपदेशहरु प्रदान गर्नुभएको थियो । ती मार्गहरुले हामी मुख्यतः नबिन कल्पना के हो ? भनेर हामी त्यस तर्फ नलागेर आफ्नो धर्म रीतिरिवाज सुधार गर्नुपट्टि नै लाग्नु पर्दछ । र, यस भन्दा पहिले हाम्रो हाम्रो समाज कस्तो थियो भने जुन एउटा पँचौली गर्दा खेरी जीवहत्या गर्ने चलन थियो । तर के बुझिन्छ भन्दा यो चलन हिजो अस्तिकै कुरा हो । हामीले धेरै मात्रमा धेरै खर्च गर्नाले धेरै अँध्यारो मार्गमा लाग्दै गयौं र स्वर्गीय धर्मगुरुको उपदेश अनुसार यो जुन उज्यालो भनौं अहिंसा भन्दछ, हामीले जीव हत्या नगरेर, हामीले फल फलाहार नैवेध– फूङ् ई ईश्वरको नाममा चढाउनु नै वेश छ भन्ने मलाई लाग्छ । यसरी हाम्रो हिंसा कर्म, जीव हत्यालाई अन्त गरेर (हाम्रो भाषामा फ गरे फगिया) भन्छ । यो मार्गदेखि हामीले पूजा गर्दै गयौं भने, तागेरा निङ्वाभूमाङ् ईश्वर खुशी हुँदै गएपछि के हुँदोरहेछ भने, अन्धकार हट्दै जान्छ । अन्धकार हट्दै गएपछि ज्ञान नजिकै हुँदैं जान्छ । हामीलाई चाहिने ज्ञान यत्ति हो ।

ज्ञान के ले रोक्छ ? भन्दा खेरी पापले । त्यो पापलाई अन्त गर्नु नै हाम्रो प्रमुख कर्तव्य हो । र, हामी ब्रह्माको मार्गमा लागेर, हाम्रो धर्मले पालन गर्नु, तागेरा निङ्वामाङ्को सेवा गर्नु, जस्तै केसिङ्गेन पानुमाङ् थामेन्दिङ् मानु माङ् भनिन्छ । सम्झिदिउ यौटै पृथ्वी र आकाश । त्यो पृथ्वीको जुन सृष्टिकर्ता परमपरमेश्वर हुन् । त्यसले गर्दा हामीले यसमा सेवा गर्नका लागि यस्तै नीति अनुरुप गदैं, महागुरु फाल्गुनन्दको उपदेश अनुसारनै यसरी जम्मा हुँदैं, यसरी उभौली उधौंली सेवा ग¥यौं भने सकल प्राणीमा पनि रक्षा हुने, हाम्रो पाप पनि नष्ट हुँदै जाने अन्धकार पनि हट्दै जाने र ज्ञानको बाटो पनि खोलिँन्दै जाने र यहीँ नियमहरु हामीले जान्नुपर्छ, टिप्नुपर्छ, खोज्नु पनि पर्छ । अब माङ् भनेको जस्तै ईश्वर भनेको तागेरा निङ्वाभूमाङ् भन्दछौं । यी अनादि हुन् । सृष्टीका धनी हुन । यिनको सेवा गर्नको लागि तागेरा निङ्वाभूमाङ्को सेवा चरु, फूल फलेदो, धूप धूँवार गरेर सेवा गर्छौ । यसको अर्थ के हो ? हामीले आज राम्ररी सेवा गर्दै, गए हावा पानीको मौसम पनि मिल्दै जान्छ । अन्न पानीको सह पनि मिल्दै जान्छ । र जबसम्म हामी इश्वर सृष्टिकर्तालाई सम्झदैनौं । उनीहरुबाट हामीले कहि पनि पाउन सक्दैनौं ।

आज जसरी हामी सेवा गर्छौ । यसरी सेवा गर्दै गर्यौ भने पानी पर्छ । अन्नको सह मागे ईश्वरबाट पाईन्छ । हामीले सेवा गर्नु छाड्नु हुँदैन । यो कलिको अन्तिम हो, जे ले गर्दा हामीलाई बाँध्नु नै कठिन परिरहेको छ । र हामीले सद्भावनाले ईश्वर सम्झेर सत विचार, सत व्यवहार र सत् आचार गर्न सक्छौं ।

धेरै के भन्न्ुा र, महागुरु फाल्गुनन्द आउनु भयो र हाम्रो किरात समाजमा एउटा अन्धा समाजमा पनि यत्तिको ज्ञान हामीले पाईरहेका छौं । यो त हाम्रो ठूलो भाग्य हो, जो जो हामी पूजा सेवा गर्छौं । महागुरुको देन हो । यी सबै हेरेर, सम्झेर र बुझेर हामीले जोडतोडका साथ विकास गर्दै लानुपर्छ । हाम्रा व्यवहारमा रीतिरिवाजलाई सुधार गर्दै प्रचार गर्नुपर्छ । यसरी हामी पापबाट मुक्त हुन्छौं । दुःखबाट कसरी मुक्त हुन्छौं भन्ने दिशामा (लाग्दै गएर) हामीले खोज्दै लानुपर्छ । हाम्रो किरात मुलुकमा महागुरु फाल्गुनन्दज्यू आउनु भएर ६ माङहिमहरु खडा गरी राख्नुभएको छ । ज्ञान, बुद्धि, विवेक खोज्ने ठाउँ त्यहीँ हो अन्त जानु पर्दैन । अब धेरै के भन्नु र, म मेरो वक्तव्य यहीं टुङ्ग्याउँदैछु । सेवारो ।

 

(वि.स. २०३३ साल चैत २२ गते नाम्फुन्योक् साङ्सेन माङ्हिम सिलौटी पान्थरमा महागुरु फाल्गुनन्दज्यूको २८ औं स्मृति दिवस समारोहमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ्ज्यूले गर्नु भएको माङ आशीर्वचन)

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ४८ बजे