२ असार २०८१, शनिबार | Sat Jun 15 2024

हामीले धर्म, कर्म र ज्ञान पाएको छौं

किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ



श्रदालु भक्तजनहरु र प्यारा चेलाहरु
सन्ध्याकालको समय आयो, जाडो हुन्छ र पनि धार्मिक कुराहरु धेरै सम्झाएको छु । हामीले बुझ्नुपर्ने कुराहरु धेरै गहिरो छ । गुरुमन्त्र तीनवटा हुन्छ । त्यो धेरैजसोले प्राप्त गरिसक्नु भएको छ । तिर्थको रुपमा यहाँ उपस्थित हुनुभएको छ । ज्ञान, शिक्षा दीक्षा पाउनलाई धेरै टाढा जानुपर्दैन । यो स्थल भनेको माङ्को स्थल हो ।

जहाँसम्म हाम्रो समाज छ, त्यहाँसम्म हाम्रो धर्मलाई पु¥याउनु पर्छ । संगी साथीहरुलाई पनि सम्झाउनुपर्छ, यसभन्दा पहिले तपाईहरुले यो कुरा जानिसकेको हुनु पर्दछ ।

संसार अप्ठ्यारो ठाउँमा पुगिसकेको छ । जनसंख्या ज्यादा भएको छ । जनसंख्या ज्यादा भएपछि पाप फैलिन्छ । पाप बढेपछि पृथ्वीलाई भार हुन्छ । मकै बाक्लो भयो भने छाट्नुपर्छ । त्यस्तै तागेरा तागेरा निङवाभुमाङबाट यो संसारमा मान्छेहरु धेरै नै छाँटिएर जान्छ ।

ज्ञानीको ज्ञान हराउँछ, धनीको धन हराउँछ । बाढी, पहिरो, खडेरी, हावाहुण्डरी, भुकम्प, युद्धजस्ता विविध दैविक प्रकोपले पृथ्वीलाई असर गर्छ । पृथ्वीलाई असर गर्दा मान्छेलाई पनि असर गर्छ । धेरै पाप फैलिएकोले अब पृथ्वीले रुप फेर्छ । त्यतिबेला बाँच्ने उपाय एउटै मात्र छ जहाँ सत्य छ, आत्मा पवित्रता छ, माङको विश्वास छ, त्यहाँ माङ्ले बचाउँछ । तर आत्मविश्वास छैन् भने निकै अप्ठ्यारो होला ।
माङप्रति आस्था अत्यन्तै गर्नुपर्छ । सरसफाई गरेर माङहरुलाई सम्झनुपर्छ यसलेनै हाम्रो ठूलो कल्याण हुन्छ । अप्ठ्यारो समयको नजिक पुग्न लागेको छांै । मानिस भनेको तागेरा निङवाभुमाङ्को सृष्टि हो त्यसैले इश्वरप्रति विश्वास राख्यौं भने अप्ठ्यारो ठाउँबाट पनि जोगिन सकिन्छ । ठूलो अनिकाल, औषधिले नभेट्ने बिमारहरु पनि आउँछ यस्ता कुराहरुबाट बच्न सुरक्षित हुनुपर्छ ।

अन्नको सह, धन सम्पतिको सह घटेर गएको छ । मानिसहरुको मन मिल्दैन, झगडा हुन्छ, घर घर मारामार हुन्छ, यस्तो दिन आइरहेको छ । यो घडीमा तागेरा निङवाभुमाङले बचायो भने बचायो नत्र हाम्रो ठाउँ छैन् । यो मैले मात्र हैन, मेरो बाजे महागुरुले पनि भनेको कुरा हो । मधेश र पहाड मान्छेले भरिसक्यो । पृथ्वीलाई दशा लाग्दा नेपाल मात्र हैन, सबै ठाउँमा दशा लाग्छ । कुनै ठाउँमा पानी ज्यादा, कुनै ठाउँमा अनिकाल ध्वंशविध्वंश, झै झगडा हुन्छ । महान अस्तित्व बोकेको राष्ट्रहरुको शक्ति गिर्दै जान्छ ।

संसारका मान्छेहरु विश्व ब्रहमाण्ड घुमिसकेका छन । शिक्षामा पनि उच्च पुगिसकेका छन, तर ज्ञानीको ज्ञान हराउँने, बुद्धिमानको बुद्धि हराउँने बेला आउँदैछ । तपाइहरु प्रत्येक व्यवहारमा अध्ययन गर्नुहोस् त्यहाँ तपाइहरुले यो पाउनु हुनेछ ।

अब अत्यन्तै ठूलो भूकम्प जान्छ यसले करिब–करिब संसारलाईनै चक्कर लाउँछ । यसले ठूलो हानी पु¥याउँछ, हिमाल । डाँडाहरु भाँसिन्छ । यो नजिकै आइसक्यो, त्यसैले सेवाप्रति ज्यादै ध्यान दिनुपर्छ ।

अहंकार, क्रोध, घमण्ड गर्नुहुँदैन । खानेकुरा हुँदा त अहंकार घमण्ड गर्ने हो नि त्यो भेट्टाएन भने अहंकार हराउँछ । अन्न तीन मुरी फल्यो भने मेरो त तीन मुरी अन्न फल्यो भनेर गफ लाउँछौ तर फलेन भने त उहीँ अनुहार त कालै हुन्छ । दिनदिनै तागेरा निङवाभुमाङको साह्रै भक्ति गर्ने समय आइरहेको छ । यो खेलाँची कुरा होइन, किन कि साह्रै भक्ति गर्ने समय आइरहेको छ । यो खेलाची कुरा होइन, किन कि त्यस्तो दिन नजिकै आउँदैछ ।

हामीले हाम्रो काल आफैं बोलाउँदै छौं । काल आएपछि न त राजाले रोक्दा रोकिन्छ न त कानुनले रोकिन्छ त्यहाँ एक अलौकिक शक्ति छ । स–सानो भूकम्प अनगिन्ती नै जान्छ तर ठूलो चाहीँ आउन बाँकी छ । त्यसैले माङको साह्रै सेवा गरौं है । यो कुरा गाउँघरमा भन्दा आश्चर्य मान्छ, उल्का बनाउँछ । तर उल्का हुँदैन, तपाईहरुले हेरिरहनु भएको छ मैले पहिले गरेको भविष्यवाणी पुगिराखेको छ, पुग्दैछ र केही पुग्न लागिराखेको छ । अध्ययन् गर्दै जानुहोला । मैले बोल्नुपर्ने काम आइरहेको छ ।

भविष्यमा मान्छे अत्यन्तै कमी हुन्छ । मान्छेले मान्छे खाने, बेच्ने दिन आइराखेको छ, यसैलाई पाप भनिन्छ । खानेकुरामा शुद्धी हुँदै जानु । आचरण व्यवहार सुधार गर्दै लानु र माङप्रति अगाध विश्वास राख्दै जानु । सुमार्गलाई छोड्नुहुँदैन, किनकि त्यहीँबाट हाम्रो सुधार हुँदै जान्छ । यो मैले मात्र होइन, संसारका अन्य भविष्य वक्ताहरुले पनि भन्दै आइरहेका छन् ।

किरातहरुको भाग अलिकति झुण्डिएर बसेको छ, राम्रोसँग चिन्नु । आफ्नो धर्म, कर्म, मुन्धुम, संस्कार, संस्कृति, भाषा, लिपिलाई चिन्नु । तपाइहरु बस्नु भएको प्राङगण सम्याएर एउटै ठूलो माङ्हिम बनाउने इच्छा राखेको छु । प्रगति भई राखेको छ ।

प्रगतिहरु कठिनाईपूर्वक भएपनि आएर शोभा बढाईदिनु भएकोमा ज्यादै खुशी लागेको छ । तपाईहरु यहाँ आउनुभयो एकापसमा परिचय गर्नु भयो, सुख दुःखको कुरा गर्नुभयो । यसरी यो ठाउँ एउटा संगमस्थल हुँदै गइरहेको छ । हामीले पकडेको किरात एकताको सूत्रलाई नछोडौं । एउटै संगठनमा रहेर एउटै मार्गमा हिड्नुपर्छ । तपाईहरुलाई डो¥याउने जिम्मा मेरो भइरहेको छ ।

मुन्धुम शःसीमा सुधार गर्ने तर्फ हाल लागिरहेको छु । चाँडो भन्दा चाँडो सिध्याउँनु पर्ने भएकोले व्यस्त छु । महागुरु फाल्गुनन्दले अलिकति अधूरो गर्नुभएकोले सो पूरा गर्ने मेरो कर्तब्य भएको छ । मेरो मातहतमा रहेको दुई संस्थामा पनि व्यस्त रहेको छु ।
तपाईहरुको नाममा तपाइहरुको रक्षाको लागि दिनरात यहाँ धुपबति बलिरहेको छ । सो विर्सनु भएन । जहाँ भएपनि मैले शब्दी गरेको चेलाहरु संसारको कुना कन्दरामा पुगेका छन् उनीहरुले सम्झिरहेका छन् । हामी सम्पूर्णको आत्मालाई, मनलाई एकै गरेर एउटै बाटोमा हिड्नुपर्छ । यसको लागि साथीहरुलाई पनि रिसाएर हैन् संयमसील भएर सम्झाउँनुपर्छ । दुःख कष्टसाथ आउनुभयो । यहाँ आएर शक्ति सिद्धि पाउँनुहुन्छ त्यो फल हो ।

म गाउँ–गाउँ घुम्न भ्याउदिन, त्यसैले धर्म, कर्मबारे सम्झाउँन घरी घरी दुःख दिएको हुँ । रिसाउनुभयो भने तल झर्नु हुन्छ, यहाँ ज्ञानगुनको बाटो पक्रिनु भएको छ, यो कुरा नछोडी जानुपर्छ अनि पार तरिन्छ । आत्मा सिमको किला जस्तो बनाउँनु हुँदैन ।
विश्व किरात सम्मेलन गराउने इच्छा राखेको छु त्यसलाई दुई संस्थाको शक्ति प्रयागे गर्छौ । स्वदेश विदेशबाट आउनु भएका सम्पूर्ण भक्तजनहरुमा तागेरा निङवाभुमाङले रक्षा गरोस, माङवा हाङवा सिद्धि शक्ति आयु वरदान पाऔ भन्ने माङसँग प्रार्थना गर्दै आगामी मंसिर १८ गते यसरीनै भेट्ने आशा सहित बिदा चाहन्छु ।

जय किरात । तियाहा ।।

वि.स. २०५५ साल माघ ६ गते सावायेहाङ किरात खिबेक्वा याक्वा सेवाको अवसरमा इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५, साविक बाँझो–९, माङसेबुङ स्थित किरात हाङसाम मुजोत्लुङ माङहिम प्राङगणमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको माङ आशीर्वचन)

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ४ : ०८ बजे