११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औं जन्मोत्सव कार्यक्रम सम्पन्न


२० मंसिर २०८१, बिहिबार  

42
Shares

 

माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह भव्यताका साथ सम्पन्न भएको छ । विगतका वर्षझैं धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा आयोजित नुमाङगेन्ना कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो ।

महासमारोहको प्रमुख अतिथि रक्षामन्त्री माननीय मानवीर राईको प्रमु्ख आतिथ्य र प्रतिनिधि सभा सदस्य माननीय सुहाङ नेम्बाङको विशेष आतिथ्यमा सम्पन्न महासमारोहमा आत्मानन्द साहित्य पुरस्कारबाट लेखक, साहित्यकार तथा समालोचक लछामी सेर्मा पापो र लेखक तथा साहित्यकार बुद्धहाङ नेम्बाङ सिक्कुदाङलाई सम्मानित गरिएको थियो ।

यसरी सम्मानीतद्धयलाई जनही नगद ५ हजार सहित तामापत्रद्धारा सम्मान गरिएको हो । नुमाङगेन्ना सेवामा ७१ जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन गरिएको थियो ।

नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी आयोजना हुँदै आएको आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका विजेता टिम दुधे युथ क्लब झापालाई नगद रु ३ लाख ११ हजार १७१ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र र उप विजेता तिजोग युवा क्लब पान्थरलाई नगद २ लाख ५ हजार १७१ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । महासमारोह खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङका अनुसार गोल्ड कप अन्तर्गत फुटबल बाहेक अतिरिक्त खेलमा सहभागि भई विजेता खेलाडीहरुलाई पनि पुरस्कार वितरण गरिएको छ ।

विगतका वर्षझै यस वर्ष पनि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै आयोजना गरिएको सावायेहाङ माङगेन्ना कार्यक्रम आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गरेर लाखौं भक्तजनले नुमाङगेन्ना सेवा गरेका थिए । भने सोही अवसरमा प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपानको समेत व्यवस्था गरिएको थियो ।

मंसिर १९ गते विहिबार मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन प्रदान भएको थियो । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण समेत गरिएको थियो ।

महासमारोह अन्तर्गत किरात साम्यो माङसेवासाबा पान्जुम्भोको संयोजनमा १६ गते साक्मुरा वादेम्मा सेवा र १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न गरिएको थियो ।

यसरीनै नुमाङगेन्ना सेवाको अवसरमा किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकबाट भक्तजनहरुको उपस्थित रहेको थियो । जन्मोत्वसमा सहभागि हुन नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुबाट किरात धर्मावलम्बीहरु माङसेबुङ आएका थिए ।

नेपालबाट मात्र नभई भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा जन्मोत्सव मनाउन किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिक तीर्थस्थल माङसेबुङमा लाखौं भक्तजनहरुको उपस्थित रहेको महासमारोहले जनाएको छ ।

सांस्कृतिक कार्यक्रम

महासमारोहमा सांस्कृतिक विभाग संयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको संयोजनमा मंसिर १८ र १९ गते साँझ बृहत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सांस्कृतिक कार्यक्रममा याक्थुङ फक्ताङलुङ आइडल सिक्फुङ ३ का टप १० प्रतिभाहरुले पनि माङसेबुङमा आफ्नो दमदार प्रस्तुति दिएका थिए । यसरी प्रस्तुति दिने कलाकारहरु विजय फागो, दिलिप माखिम, मनु योङहाङ, राजेन्द्र सेर्मा, अर्जुन नाल्बो, सञ्जिता लिम्बू, सुनिता लावती, गगन प्रकाश लावती, असल तुम्रोक र दर्पण सेर्मा रहेका छन् ।

यसरीनै गायिका थोक्फेला लिङदेन, गायक इन्द्रसुशिल चोङबाङ, गायक तथा संगीतकार जेपी नेम्बाङ, नरेश लिङदेन, गायक चोत्लुङहाङ केदेम, उपेन्द्र लिम्बू, हरिचन्द्र लिम्बू, बीरपन थेगिम लगायत कलाकारले आफ्नो प्रस्तुतिबाट दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । विगतका वर्षझै किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

साहित्यिक कार्यक्रम

महासमारोह साहित्यिक विभागको संयोजनमा मंसिर १९ गते दैभाषिक साहित्यिक कार्यक्रम आयोजना गरिएको छ । समालोचक लक्षामी सेर्मा पापोको प्रमुख आतिथ्य र पुर्ण कार्की ढोलीको विशेष आतिथ्यमा सम्पन्न प्रतियोगितात्मक साहित्यिक कार्यक्रममा किरात भाषा तर्फ प्रथम लावुनहाङ केरुङ, दोस्रो सविना सङबाङफे, तेस्रो मनकुमार लाओती र सान्तवना दिलकुमार केरुङ भएका थिए ।

खस नेपाली भाषा तर्फ प्रथम योगेश लाओती चुक्सा याप्मी, दोस्रो सञ्जु इङनाम, तेस्रो नाम्दीप लाओती भएको थियो । महासमारोह साहित्य विभाग संयोजक इन्द्रहाङ आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सञ्चहाङ सङबाङफेले राखेका थिए भने, सञ्चालक रविन कुरुम्बाङले गरेका थिए ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न नुमाङगेन्ना कार्यक्रमलाई आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले सञ्चालन गरेकी थिइन ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ९ : ५३ बजे