२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

कवि सन्जित फलनाको दुई कविता



खमारीको रुख

तक्सङ माथी टल्किने फक्ताङलुङ जस्तै
जन्मेदेखी देखेको हुँ मैले
मेरो घरको आँगनीमा खमारीको रुख

पूर्खाहरुको पालादेखी बाँचेको
यो खमारीको रुखको फेदमा उभेरै
सिकाएको थिए बुवाले
खुट्टा हल्लाउँदै च्याब्रुङ नाच्न मलाई ।

अहिले
उस्तै छ आँगन,घर र खमारीको रुख
तर बुवा छैन
बुवा नभएको रित्तो आगनी छेउ
यो खमारीको फेदमा बसेरै सोचिरहेछु
यो रुखलाइ जोगाएर
मेरो इतिहासको साक्षी बनाउँ ?
या ढालेर च्याब्रुङ बनाउँ ?

सपना थुनिएको गाउँबाट है 

बर्षौ बर्ष देखी
सपनाहरु थुनिएका छन जहाँ
बर्षौ बर्ष देखि
आवाजहरु दबीएका छन जहाँ

इतिहासको कुनै श्रापित राज्यजस्तो
पराजित,शाषित,दमित
खण्डहर उभिएका छन्
पहिरोको दस्तखत बोकेर पहाडहरु
रुँदै रुँदै बगेका छन्
आँसुको मुहान बोकेर नदीहरु
पिल्सिँदै पिल्सिँदै हिँडेका छन्
भाग्यको थाप्लो बोकेर गोरेटोहरु
भत्किँदै भत्किँदै बसेका छन्
शुन्यताको कहानी बोकेर चौतारीहरु
आफ्नै गुमनाम कालखण्डहरुको मिथक बोकेर
भाग्नावशेष बाँचीरहेछ आदिवासी गाउँ ।

छौ हामी
मौन,निरुत्तरीत ,किंकर्तब्यबिमुख
नियतिको उत्तरआधुनिक संस्करण बाँचीरहेका
समयका बिसंगत दुर्व्यशनी भोगिरहेका
एक उत्तरआधुनिक शिसिफस
या छौ
आफ्नै अस्तित्वहरुले भ्रमित,दिग्भ्रमीत
मिथ्याको गोदत पर्खिरहेका ।

जन्मिँदै जहाँ
जिन्दगी बन्धक भइदिन्छ ऋणको तमसुकहरुमा
र धितो बसेर ढुँडी पर्छ मस्तिष्क

जहाँ रिक्तताहरुले ,महत्वकांक्षाहरुले
बहुलाईरहन्छ बिचारको गिन्सबर्ग
र “हउल” गरिरहन्छ आफैसंग समाजसंग राज्यसंग

जहाँ भोकहरुले,गरिबिहरुले
सिकाइरहन्छ बर्गियता,मार्क्स र मुक्ति बिक्री
र गुन्द्रुक बोकाएर बिक्री गरिरहन्छ ग्लोबल कम्पनीहरुमा

जहाँ वाध्यताहरुले, विवशताहरुले
नापिरहन्छ छाती र स्वाभिमान
र राइफल भिराएर हिँडाइरहन्छ गुलामीमा

जहाँ आफ्नै पुर्पुरोले
धिक्कारिरहन्छ आफैलाई
आफ्नै कुण्ठाहरुको कारागारमा
बन्दी भइरहन्छ हृदय
निरीहताको हिनताबोधले
गिँजोलिरहन्छ विचार ।

मृगतृष्णा जो हरेक साझ बिहान्
क्षितिजसंग अनन्त फैलिरहन्छ आँखाको आयतनभरी
मेट्दै आफैले कोरेको अनाम हस्ताक्षर
भाग्य जो दौडिरहन्छ शुन्यतादेखी शुन्यतासम्म
समेट्न नसकेर आफ्नै उद्देलन
खुशी जो दुर्घटित भइरहन्छ पल प्रतिपल ।

अग्लिएर जंगल लहरासंग
हुर्किएर तरुलको झ्याङसंग
उमेर घरी घर त घरी वनतिर अल्झिरहन्छ
हेरेर भोकको रोटीजस्तो खुर्पे जुन
गनेर आशाका थोप्लोजस्तो मिर्मिरे ताराहरु
आयु आफै बिलाइजान्छ असीमित आकाशमा ।

पुरिएर जहाँ
भड्किरहेको छ आदिम सभ्यता
उठ्न नसकेर
निस्सासिरहेको छ आदिम चेतना
त्यो चट्टान हो कि पहाडमा टल्किएको
हो पुर्खाहरुको खप्पर ?
त्यो ओढार हो कि चट्टानमा खोलिएको
हो पुर्खाहरुको आँखा ?
त्यो झ्याउ हो कि ओढारमा घुम्रिएको
हो पुर्खाहरुको कपाल ?
कुन युग बाँचिरहेछ यसरी
नाप्दै घामका छाँयाहरु भुइँमा ?
कुन सत्य छोपिरहेछ उनिउँका पातहरुमा ?
कुन आस्था मुर्छा परिरहेछ देउरालीहरुमा ?

जहाँ बताससंग सुस्ताएर
शास फेर्न खोज्छ रुखका पातहरु
स्वतन्त्रताको आकार पहिल्याउँदै
मुक्त हुन खोज्छ बादलहरु
पहराहरुमा ढुकढुकी रेट्दै
बोल्न खोज्छ खोलाहरु ।

म त्यही सुदुर गाउँमा छु
बर्षौदेखी केही न केही सोचिरहेको छु।

कवि सन्जित फलना
माङ्सेबुङ ५ इलाम

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ११ : ३३ बजे