१० असार २०८१, आइतबार | Sun Jun 23 2024

धर्मगुरुसँग बिताएका सांस्कृतिक जारणका दुई दशक

ज्ञानोदय लाओती: डिबी लिङदम र आङबुहाङ अबोध अविरलसँगको कुराकानीमा आधारित



किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’सँग मेरो भेट वि.सं. २०३० मा भएको थियो। त्यसबेला वहाँको गुफा साधना सकिएको थियो। त्यसपछि वहाँसँग २२ वर्ष सँगै रहेर काम गरें। त्यस अवधिमा थुप्रै सांस्कृतिक आन्दोलन गरेका थियौं।

निरंकुश पञ्चायती व्यवस्था भएकाले त्यस समयमा किराती जागरण र राष्ट्रियताका गीत गाउँदा निक्कै अप्ठ्यारो पनि भोग्नु पर्‍यो।
वि.सं. २०३७ मा गुरुको जन्मोत्सव नोमाङगेन्नामा भव्य सांगीतिक कार्यक्रम गरिएको थियो।

उक्त अवसरमा लारुम्बास्थित गुरुआश्रममा निर्माण गरिएको सांस्कृतिक मञ्च किरातीहरुको पहिलो सांस्कृतिक मञ्च हो। जसले जे भनून्, त्यसअघि किरातीहरुको सांस्कृतिक कार्यक्रम गर्ने मञ्च निर्माण भएको थिएन। हामीले त्यसबेला थुप्रै गीतहरु गायौं। थुप्रै नृत्य प्रदर्शन भए। त्यसबेला मैले रचना गरेको ‘आइन कन साम्यो हा’ शीर्षकको गीत चर्चित थियो। उक्त गीत रेकर्ड भएर रेडियो नेपालमा पनि प्रशारण भयो। पछि नेपाल टेलिभिजनमा पनि प्रशारण भयो। त्यो निरंकुश व्यवस्थामा किरात धार्मिक जागरणका गीत लेख्न निक्कै कठिन थियो। प्रहरी प्रशासनले कडा निगरानी गथ्र्यो। लारुम्बामा सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेमा मण्डल साम्पाङ, बमप्रसाद लाओतीलगायतका थियौं।

लारुम्बालाई पञ्चायती व्यवस्थामा पनि चर्चामा ल्याउन सांगीतिक कार्यक्रमले ठूलो योगदान गरेको थियो। सांगीतिक कार्यक्रमले युवाहरुमा जागरण ल्यायो। लारुम्बालाई माथि पुर्‍यायो।

त्यसबेला जागरण गीत, संगीतका साथ माङलाङ, केलाङ पनि थियो। माङलाङमा विषेश शक्ति हुन्छ। जसको मुन्धुममा विषेश महत्त्व छ। हामीले दर्जनौं प्रकारका माङलाङ प्रदर्शन गथ्र्यौं। गुरु पनि फुर्ती साथ नाच्नु हुन्थ्यो। खासगरी माङलाङ लाधुङसेमी सेवा सकिएपछि नाचिन्छ। यसको पनि शुरु र अन्त्यमा नाच्ने तरिका बेगल हुन्छ। कतिपय अवस्थामा त सक्दिन भन्दा पनि माङलाङ ननाची धर नै पाइँदैन थियो।

हामीले विभिन्न स्थानमा धर्म, भाषा र संस्कृतिसम्बन्धी सांस्कृतिक कार्यक्रम लिएर हिँड्यौं। त्यसबेला चुलाचुलीमा लिम्बुवानी किपट आन्दोलन पनि चलिरहेको थियो। प्रशासनले हामीलाई धेरै निगरानी गरेको थियो। एक पटकको तिहारमा नाच हिँडाउने तयारी गर्दैगर्दा पल्लो गाउँ (कमल) बाट आएका प्रहरीले घेरिहाले। उनीहरुले यो गीतले के भनेको भनेर सोध्न थाले। गीतहरु किराती भाषामा थिए। हामीले गीतको भाव उल्था गरेर सुनायौं। तर, उनीहरुले पत्याएनन्। हामीले प्रधानपञ्चलाई बोलायौं। त्यसबेलाका प्रधानपञ्च यसै गाउँको हाम्रो दाइ पर्ने हुनुहुन्थ्यो। दाइले गीतले गीतको अर्थ बङ्ग्याएर प्रहरीलाई अथ्र्याउनु भयो। गीतले ‘मेम्बोके आनी मेबोखेन् (नउठी अब भएन्)’ भनेको थियो। आफ्नो धर्म, भाषा, लिपि, संस्कृतिका लागि नउठी भएन भनेको थियो। तर, वहाँले देश विकासका लागि नउठी भएन भन्ने गीतको सन्देश रहेको बताउनुभयो। त्यसपछि प्रहरीहरु फर्किए।

हामीले आफ्नो धर्म, भाषा, लिपि, संस्कृतिको संरक्षणका लागि जागरण गीतहरु गाउन, नाच्नका लागि हामीलाई सुरक्षा होस् भनेर गाउँका एक जना दाइलाई सधैं प्रधानपञ्चमा जिताउँथ्यौं। एकपटक धनकुटा चौबिसमा मेरो टोलीलाई प्रहरीले अवरोध गर्‍यो। हामी २२ जनाको टोलीमा देउसी नाच लिएर गएका थियौं। पारिपटी राजा वीरेन्द्रको सवारी थियो।

हामीलाई सुराकी हुन् भन्ने उजुर परेको रहेछ। उजुर गर्ने पनि लिम्बुहरु नै रहेछन्। तर, हामीसँग युमाको साथ थियो। सबै गाउँले दिदीबहिनीले ‘उनीहरु हामीलाई गीत, संगीतबाट यसो आँखा देखाउनेहरु हुन्। कहाँको जासुस हुन्छ।’ भनेपछि प्रहरीहरु गए।
हामीले गीत, संगीतका साथै सामाजिक रुपान्तरणका नाटक पनि थुप्रै मञ्चन गर्‍र्यौं।

लारुम्बामा प्रदर्शन गर्न शुरु गरेको ‘कुरीति’ नामक नाटक धेरै चर्चित भयो। त्यो नाटक विभिन्न स्थानमा पनि प्रदर्शन गरियो। नाटक हाम्रो संस्कारमा आएको कुरीतिको बारेमा थियो।

हामी गुरुसँग भूमिगत रुपमा सांस्कृतिक कार्यक्रमहरु गथ्र्यौं। दिउँसो लाधुङसेमी सेवा लगाउँथ्यौं। राति माङलाङ, केलाङलगायतका सांस्कृतिक कार्यक्रम हुन्थ्यो। म गुरुसँग महागुरु फाल्गुनन्दको पालामा बनेको ताप्लेजुङ निगुरादिनस्थित चिलिङसे माङहिममा गएको थिएँ। त्यस समयमा करिव आधा दर्जनको संख्यामा हामी थयौं। असारको महिना थियो। बाटोमा एउटा चौतारामा बसेको बेला एक जना बाहुन बुढाले असारमा डुल्ने मान्छे काम लाग्दैन भने। गुुरुले सुन्नु भयो, भएन थाहा भएन। हामीले चिलिङसे माङहिममा कोदालो पनि खन्यौं। गुरुले पनि फुर्ती साथ खन्नुहुन्थ्यो। त्यहाँ मैले पहिलो पटक गीत रचेको थिएँ। ‘तक्सङधो थोदो थोक्फेक्ला फेक्ते’ शीर्षकको गीत थियो। त्यो धेरै गाइयो। थुप्रै गीतहरु रचना गरेको छु। सबै संकलन गरेर राखेको छु।

अहिले गीत रचना गर्नेहरु प्रसस्त छन्। त्यसबेला हामी थोरै थियौं। मलाई गीत रचना गर्न मुड आउनु पथ्र्यौ। मुड आएपछि जस्तो अवस्थामा पनि म लेख्थें। गीतहरुमा धर्म, भाषा, लिपि हराएर गएको, यसको विकासका लागि सबै लाग्नु पर्ने अनुरोध गरिएका गीतहरु रचना गरेको थिएँ।

१. खेप्सेम्मे आल्ला खेप्सेम्मेओ
आनिगेन साम्लो खेप्सेम्मेओ
मिप्माबा मुन्धुम हाबेकहा
आल्लोग आतियो मेमये।
आफाङे सकसक मेन्निते
आफाङे पानलक मेम्बाते
पानलोककिन आल्ल मयेरो।
साङसाङ नु सेसे लरिरो
निङवाने तङसिआङ पोगिरो
आल्लने आनी सोरिरो।
आङदिग आनी लमेनलो
केइम्बा सकसक लक कोतुम्लो
मुन्धुम नु हाबेक कोतुम्लो

२. आइन कन इङघङहा
हारा खेप्सेम्मेआङ तेरेम्मो
कन लाजेओ लाखिगे
हारा र केरेकाङ पोगेम्मे
फूङजिरिरे फूङ खेम्मा
नोमुइरे नो खेम्मा
अखवरि आनिगे वइगेसाङ
हाङ हाङ सेरि नोखेम्मा
माकचिरिरे माकनिङवा
हेचिरिरे हेनिङवा
मेन्जोकेरो आदाङवासे
हुकफाकी आनी पोगिरो।

साभार  किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको स्मारिका

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ४ : ५३ बजे