२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

किरात धर्म, संस्कृति र किरात कलाकार

एवाई रश्मी वालिङहाङ : किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको स्मारिकाबाट



किरात धर्म र संस्कृति
किरात धर्मदर्शन तागेरा निङवाभूमाङको उत्पत्तिबाट शुरु हुन्छ। यसका साथै विश्व ब्रह्माण्ड चराचर जगतको व्याख्या विश्लेषण मुन्धुमले गर्छ। मुन्धुम आत्मसात् गर्ने किरात धर्मदर्शन साक्षात, अनन्त, अथाह, अखण्ड छ। जहाँ ज्ञानै ज्ञानको खानी छ। अनन्त दर्शन किरात धर्ममा पाइन्छ।

किरात धर्म, कर्म, संस्कार, संस्कृति, साहित्यको पनि तागेरा निङवाभूमाङको उत्पत्तिसँगै उत्थान भएको विश्वास गरिन्छ। ‘लाकेका, माङकेका तागेरा निङवाभूमाङ केका इरेल्ले’ जून घामको चर्खा घुमे झैं, रोटे पिङको पीरा घुमे झैं कहिले माथि त कहिले मुनि युगसँगै घुम्दै रहेको छ। विभिन्न युगमा धर्म, कर्म, संस्कार, संस्कृति, साहित्यको उत्थानका लागि ईश्वरीय दूत ‘सिजोरा कुइङमी सा’हरुको यो लोकमा जन्म भएको पाइन्छ। किरात कुलमा येहाङ, सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरिजंगाहाङ, मुहिङगुम अङसीमाङ फाल्गुनन्द, मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’, मुहिगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन हुन्।

किरातीहरु किरात इङवाका दश भाइ सन्तानहरु योक्तुम्बा, अप्लिवा, थाक्खोवा, लुङफेवा थाङफेवा, सुहाचेप्पा, थोक्लोपा, गुरुप्पा, थाङदावा र मगप्पा सन्तान हुन्। यी दश भाइका सन्तान हाल विश्वभरि विभिन्न थर, उपथर, शाखा, उपशाखामा विभक्त भई भिन्नभिन्न संस्कार, संस्कृति मान्दै आएका छन्। तिनै किरातीहरुको संस्कृतिबारे यस लेखमा चर्चा गर्ने कोशिश गरिएको छ।

संस्कृति, संस्कारसँग जोडिएको हुन्छ। असल संस्कार भए मात्र असल संस्कृति बन्दछ। अध्यात्मिक संस्कृति अविरल प्रकृयामा रहन्छ। भौतिक संस्कृति समय अनुकूल बदलिँदै बगिरहन्छ।

संसारका संस्कृतिविद्हरुले संस्कृतिलाई फरक तरिकाले व्याख्या गर्छन्। विश्व प्रसिद्ध आलोचक कवि आर्नाेल्ड भ्याम्युले जीवनको प्रकाश एवं कोमलतालाई संस्कृतिको उदाहरण दिनुभएको छ। मानव जातिको खानपान, भेषभूषा, रहनसहन, भाषा, प्रथा, मूल्य मान्यता, सभ्यताको सामूहिक योगको परिणाम हो। जसले जैविक प्राणी मानवलाई सामाजिक, प्राणी सामाजिक रुपान्तरण र परिवर्तन गर्ने सामाजिक प्राणी जीवको अर्थमा लिएको छ। संस्कृतिविद् वाच इ.वि. टेलरको व्याख्यामा संस्कार अथवा संस्कृति त्यो सम्पूर्ण जटिलता हो, जसमा ज्ञान, कल्पनिकता, कानुन, प्रथा, सम्पूर्ण क्षमता एवं गुणहरु सम्मिलित हुन्छ। अर्का संस्कृतिविद् बी मेलिनोस्कीको विश्लेषण संस्कृति मानवले बनाएको बस्तु हो। जसद्वारा आफ्नो लक्ष प्राप्त गर्दछ। एक जे हर्जकोविटसका अनुसार संस्कृति मानव निर्मित वातावरणको एक भाग हो । जो निम्न एघार बुँदामा आधारित छ।

१. संस्कृति मानवद्वारा निर्मित हुन्छ। २. संस्कृति सिकिएको व्यवहार हो। ३. संस्कृति हस्तान्तरित हुन्छ। ४. संस्कृति समूहको लागि आदर्श हुन्छ। ५. प्रत्येक समाजको एक आफ्नो विशिष्ट संस्कृति हुन्छ। ६. भाषा संस्कृतिको मुख्य वाहक हो। ७. संस्कृति गतिशील हुन्छ। ८. संस्कृति एक एकीकृत प्रणाली हो। ९. संस्कृतिमा सामाजिक गुण निहित हुन्छ। १०. संस्कृतिमा समायोजन गर्ने गुण हुन्छ। ११. संस्कृतिले मानवीय आवश्यकताहरुको पूर्ति गर्ने गुण हुन्छ।

माथि उल्लिखित मतहरुमा संस्कृति युग युगान्तर, काल कालन्तरमा समयको गतिसँगै बगिरहने अविरल प्रक्रिया हो। यो मानव वंशको आ–आफ्नो संस्कृतिको जातीय पहिचान दिएर बचाएको छ। संस्कृति समय सापेक्ष नभए कुसंकृतितर्फ मोडिएर विकृति विसंगतिमा फस्न जान्छ।

किरातीहरुको संस्कार र संस्कृतिको जननी खाप्पुना मुरङना हुन्। सो कुरा खाप्पुना मुरङना मुन्धुममा उल्लेख छ। किरात संस्कृतिहरु जस्तै: ढोल नाच, साकेला नाच, साकेन्वा नाच, धान नाच, डम्फु नाच, हुर्रा नाच, माङलाङ, यारीछाम, वादाङमी छाम, मुर्चुगा गीत, बिनायो गीत, पिपिरी गीत आदि हुन्।

धर्म, कर्म विहीन, संस्कार विहीन भएर लोपोन्मुख अवस्थामा रहेका किरातीहरुको उत्थानका निम्ति मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको महावाणी अनुसार सावायेहाङसा आङदिङ लमारे खिनी लुङधुङ अक्खुङ तेसुङिले एत्छा केबोक्खी। पाहोप्मीसा, फक्फकिसा, माहोपमीसा, मामाङसिगा केबोक्खील्ये, तागेरा निङभूमाङले लुङमा स्याक केदुक्तिआङ एत्तुगेन याम्मो पाङघाङ्बारो (सावायेहाङ किरात सन्तति हो। धेरै घमण्ड, क्रोध, अहंकार गर्नाले तिमीहरुको लुङधुङ माङलाई जिम्मा लगाएँ। जिम्मा लगाउँदा तिमीहरुको दशा छेपारोको जस्तो टुहुरा बाबुआमा विहीन, धर्म कर्म, संस्कार, संस्कृति विहीन पाप कर्म गर्ने भयो। त्यसैले तिमीहरुको दरिद्रता देख्न नसकी तागेरा निङवाभूमाङको दया मायाले फेरि सुधारका लागि मलाई पठाएको छ।) महागुरु फाल्गुनन्दको अँधुरो कामलाई पूरा गर्न मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा मुहिगुुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन क्रियाशील हुनुहुन्छ।

साक्थिम्गेनसँगका केही अनुभूतिहरु
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको संंरक्षकत्वमा गठित किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोमा म वि.सं. २०५२ देखि आवद्ध भई सेवा गर्ने मौका पाएँ। मुहिगुम अङसीमाङले गीत रचना गरी किरात सांस्कृतिक उत्थानको कार्य शुरु गर्नुभयो। हामी केन्द्रीय कलाकारहरुलाई किरात हाङसाम मुजोत्लुङ माङहिममा भेला गरी अङसीमाङले गीत गाउनु हुन्थ्यो। वहाँले फाल्गुनन्दले गाउनु भएको गीत ‘सिरुपाते खुकुरी कम्मरमा भिरौंला, चेलाभूला कहाँ पुग्छन् रुखमा चढी हेरौंला’ सुनाउनु हुन्थ्यो। धर्मगुरु गीत गाउनु हुँदै कलाकार टोलीलाई माङफुङ लगाई हौसला दिएर प्रचारप्रसारका लागि बिदाई गर्नु हुन्थ्यो। धर्मगुरुले गीत रचना गरेर कलाकारहरुलाई संस्थागत रुपमा प्रदान गर्नुभएको थियो। उक्त गीतहरु निम्न रहेको छन् :
१. ओत् तागेरा निङवाभूमाङ पेलिने फाकाआ
२. इक्सादिङ खाम्बेक लकपेकखेयो
३. थाक्माङ लाम्धो हाने साम्लो
४. किराती चुम्से पोगिना सेक्खा इङवाने कासेरो
५. तान्छोदिङतारे मेवागेन नाम्बिन नाम्बिन्दे थाङेरो
६. लत्छा पुधिक पेरेबे ताङसाङथाङ
७. ओतिरो नोफुङवा चुम्से ओतिरो

किरात धर्म, संस्कारको प्रचारप्रसारका क्रममा विभिन्न संस्मरणहरु रहे। त्यसध्ये एक दुईवटा उल्लेख गर्न चाहन्छु। लारुम्बाबाट धनकुटा जिल्लाको बुढिमोरङ गाविसको तुम्बारीमा आयोजित येत् लाधुङसेमी सेमी सेवामा गयौं। त्यतिबेल लारुम्बा दमकबीच यातायात थिएन। कलाकार भाइबहिनीहरुसँग दमक झर्ने बेलामा रतुवाखोलामा हिँड्दै जाँदा बाटोमा साउण्ड बक्स बोक्ने क्रममा साउण्ड बक्स बोकेको सल, बर्की आधा बाटोमा नै फाटेको थियो।

हामी धरान हुँदै भेंडेटार ओरालो झरी मूलघाटबाट गाडी छोडी उकालो जाँदा मूलघाटबाट उकाली गाउँमा सानो घरको अाँगनमा सानो तिरतिरे धारामा पानी थापिएको थियो। उकालो हिँड्दा थकित भोक प्यासले भाइ, बहिनीहरुले पानी पिउन खोज्दा हाम्रो साथमा रहनुभएका किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ र साक्थिम्गेन अध्यक्ष हर्कवीर योङहाङले उक्त पानी माग्नुभयो। तर, पानी दिइएन। रात परिसकेको थियो। केही उकालो लाग्दा भोक, प्यासले साथीहरु रुन थाल्नुभयो। त्यस समयमा टाँडी मोरङका रत्न पतङवा, गजुरमुखी इलामका कृष्ण योङहाङ साथै भाइबहिनीहरु हुनुहुन्थ्यो।

किरात स्पन्दन भाग–१ रेकर्ड गर्ने मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङबाट निर्देशन भएको थियो। वहाँहरुको सुपुत्री निर्मला लिङ्देन साथमा रही अङसीमाङद्वारा रचित ‘किराती चुम्से पोगिरो सेक्खा’ भन्ने शीर्षकको गीत रेकर्डिङ भएको थियो। रेकर्डिङ डाइरेक्टर नबिन लिङदेन हुनुहुन्थ्यो। रेकर्डिङ स्थल माङसेबुङस्थित किरात साम्जीक मुन्धुम निसामहिममा थियो। त्यस समयमा सुनिता मिभक, दिलकुमार लाओतीलगायतका कलाकार हुनुहुन्थ्यो। इन्द्र, हर्कहाङमा, सुनिता, दिलकुमार आदिको उपस्थितिमा रेकर्डिङ शरु भयो। स्रोत साधनको अवाभमा पराल ओछ्याएर बस्ने र सुत्ने गरिएको थियो। यहाँसम्मकी स्ट्याण्ड नभएर माइक्रो फोन परालले बाधियो।१५ दिने रेकर्डिङ सम्पन्न भयो। र, किरात स्पन्दन भाग–१ संस्थागत रुपमा निकाल्न सफल भयौं। उक्त समयमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको अध्यक्ष केहेरसिं योङहाङ, पान्जुम्भोका अध्यक्ष हर्कवीर योङहाङ पनि रहनुभएको थियो।

वि.सं. २०६२ माघ ५ गते पूर्व राजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यमा माङसेबुङमा खिबेक्वा याक्वा सेवा उद्घाटन हुने कार्यक्रम तय भएको थियो। सोही मुताविक स्वागत सम्मानको भव्य तयारी सम्पूर्ण संस्थाहरुले जिम्मेवारी पाए। त्यसरी नै कलाकरहरुले पाएको जिम्मेवारी स्वागत गीत तयारीमा लाग्यौं। गीत गायिका दिलमति चेम्जोङले रचना गरिएको गीतलाई उनीकै मेन भोकलमा तयार गरी रिहर्सल पूरा भयो। तर, कार्यक्रममा गाउने समय दुई घण्टा अगावै उनको भोकलमा कठिनाई आयो। र, मुख्य स्वरका लागि मेरो जिम्मेवारी पर्‍यो। पहिला नै रिहर्सल सकिएको हुँदा हामी सबै ढुक्क थियौं। एकाएक दुई घण्टाभित्र रिहर्सल सकी स्वागत गीत मञ्चबाट गाउने जिम्मेवारी आउँदा आफंै तिन्दाङ परें। मुटुको धड्कन बढ्न थाल्यो। दुई घण्टाभित्र रिहर्सल सकी मञ्चमा गाउन तयार भएँ। पहिला माङ, मुहिङगुम अङसीमाङ तथा अङसीमामाङहरुलाई सम्झेर गाउन सफल भएँ। माङ शक्ति र हाङ शक्ति भेट भएको ठाउँमा संस्कृतिको राप पनि महाशक्ति भएर आउने रहेछ। मलाई त्यस्तो महसुस भयो।

यसरी भोक, प्यास, निद्रा, दु:ख नभनी काम गरियो। यी सबै किरातीहरुको सांस्कृतिक उत्थानको पाटा हुन्। गर्ने गराउने, गाउने, बजाउने, नाच्ने सबै मुहिगुम अङसीमाङ र मुहिङगुम अङसीमामाङ हुन्। खाली हामी हिँडिदिने भक्त मात्र हौं।

लेटाङ–६, मोरङ

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ५ : ३९ बजे