१० असार २०८१, आइतबार | Sun Jun 23 2024

किरात लोक कथामा लालीगुराँस, उत्तीस र बाँस



धेरै वर्ष पहिलेको कुरा हो। लक्का जवान भएको आफ्नो छोरा असोमालाइ बिहे गरि दिने बाबु आमाको सोच आयो। असोमाको सारै मिल्ने साथी ‘फा’ थियो। बाबु आमाले बिहे गरिदिने इच्छा मुताबिक ‘सिम्बोसा’ हेर्न असोमा र फा बाटो लागे। सिम्बोसा हेर्दै जाँदा लेकतिर पुगे जहाँ थोक्फेला बस्ने गर्दथ्यो। तिनै थोक्फेलालाई देखाउदै फाले आफ्नो साथी असोमालाइ भन्यो, ‘ल हौ तेङबे तिमीलाई सुहाउने योग्य सिम्बोसामा यही थोक्फेला हो। यसैसँग बिहे गर्दा मेरो विचारमा राम्रो हुन्छ। तिमीलाइ कस्तो लाग्छ कुन्नि? आफै पनि विचार गरि हेर।’

उनीहरु त्यहाँ पुगेको बेला पुस माघको महिना थियो। त्यसैले थोक्फेलाको सबै पात झरेर जिग्रिङग खङग्रङग कुरुप बुढी जस्तै देखिन्थ्यो। थोक्फेलाको यस्तो अवस्था देखेर फेम्बोसा असोमालाई मन परेन र थोक्फेलासँग बिहे नगर्ने निर्णय गर्दै आफ्नो साथी फालाई फर्केर जाउँ भन्दै दुबै जना फर्किन तयार भए।

असोमा र फाबीचको यी सबै कुराकानी सुनिरहेकी थोक्फेलाले आफूलाई मन नपराएर फर्किन लागेको थाहा पाएपछि फेम्बोसा असोमा र उसको साथी फालाई ‘तिमीहरु अहिले फर्केर गए पनि चैत बैसाक महिनामा एक चोटि चाहिँ घुम्दै फिर्दै फेरि आउनु है। चटक्कै माया चाहिँ नमार्नु है’ भन्दै मायालु स्वरमा प्रस्ताव राखेपछि असोमा र फाले पनि हुन्छ हुन्छ घुम्दै फिर्दै अवस्य आउनेछौं भन्ने वाचा गर्दै फर्किए।

समय बित्दै गयो। प्रकृतिको नियमित गतिसँगै ऋतु परिवर्तन हुँदै गयो। यस वर्ष यसरी नै बित्यो। अर्को वर्षको हिउँदको आगमन भयो। यस वर्षको वसन्तमा भने असोमा र फाले फक्ताङलुङ तीर्थयात्रा गर्ने निर्णय गरेर यात्रामा निस्के। फर्कने क्रममा अघिल्लो साल थोक्फेलाले चैत बैसाकमा एक पल्ट आउनु है भनेको र आफूहरुले पनि आउने वाचा गरेको हुँदा थोक्फेलाको गाउँमा निस्के।
स पटक भने थोक्फेला फुलेर सिंगारिएको बेहुली जस्तै अत्यन्त सुन्दर भएकी थिइन्। थोक्फेलाको यस्तो सुन्दरता देखेर आफूले मन नपराएकोमा फेम्बोसा असोमालाई ठूलो पश्चाताप भयो। लाजले भुतुक्कै भए। थोक्फेलाको अगाडि उभ्न नसक्ने गरि ‘माङगेन्ना’ ढलेपछि पहिरो गएको भीरमा अन्धाधुन्ध हाम्फाल्यो। आफ्नो साथी लडेछ भनेर फाले पनि मुन्टो निहुराएर तल हे¥यो।

यसरी असोमा पहिरोमा हाम्फाले पछि अहिले पनि पहिरोमा अरु भन्दा पहिले असोमा उम्रने गर्दछ। आफ्नो साथी पहिरोमा हाम्फाले पछि फाले मुन्टो निहुराएर हेरेकाले निहुरिएको मुन्टो अझै पनि निहुरिएको निहुरिएकै छ भने फेम्बोसा असोमाले आफुलाई मन नपराएको प्रतिषोधका कारण थोक्फेला पनि चैत बैसाकमा वन पाखा नै सुन्दर हुने गरि बेहुली झैं सिंगारिएर फुल्ने गर्दछ भनेर किरात समुदायमा यो लोक कथा प्रचलित छ।

थोक्फेला : लालीगुरास
असोमा : उत्तिस
फा : बाँस
फेम्बोसा :बेहुला
सिम्बोसा : बेहुली

किरात समाचार

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : ५९ बजे